जुम्ला : जुम्लाको खलंगामा सुरु भएको दोस्रो स्याउ महोत्सव कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले उद्घाटन गरेकी छन्। मन्त्री केसीले दीप प्रज्ज्वलन गरि स्याउ महोत्सवको उद्घाटन गरेकी हुन्। उनले पहिलो पटक कर्णालीको जुम्लामा स्याउ महोत्सवमा उपस्थित हुन पाउँदा खुसी भन्दै प्रदेश सरकार जुम्लाको स्याउ बजारीकरणमा देखिएको चुनौति समाधान गर्ने तर्फ लागेको बताइन्। ‘स्याउलाई उचित बजारीकरण, प्याकेजिङ, लेवलिङ गर्न सकिएन् भन्ने गुनासो किसानबाट सुन्ने गरेकी छु’ ‘मन्त्री केसीले भनिन्, ‘जुम्लाको स्याउ बजारीकरणमा हामी सबैको चुनौति देखिएको छ। कणार्ली प्रदेश सरकार अब चुनौति समाधान गर्नको लागि योजना अघि बढाउँछ।
जुम्ली स्याउको पहिचान कायम गर्दै कर्णाली प्रदेश सरकार
जुम्ली स्याउको पहिचान कायम गर्न प्रदेश सरकार लागि पर्ने मन्त्री केसीले प्रतिबद्धता जनाइन्। ‘स्याउ ढुवानीको लागि बाटो सहज बनाउन संघीय सरकार र प्रदेश सरकार प्रतिबद्ध रहने छन्’, उनले भनिन्। मन्त्री केसीले कर्णाली प्रदेश सरकारको साझेदारीमा स्तरउन्नतीको काम अघि बढेको बताउँदै आगामी वर्ष स्याउ उत्पादनदेखि स्याउ ढुवानी गर्न कठिन नहुने किसानलाई आश्वासन दिइन्। ‘किसान ढुक्क भएर स्याउ उत्पादनमा लाग्नुस्, बजारीकरणका लागि हामी पहल थाल्छौँ’ उनले भनिन्।
स्याउ बजारीकरणका लागि डिपिआर गर्ने
जुम्लाको स्याउको बजारीकरण र प्रशोधनका लागि डिपिआर बनाउन कर्णाली सरकारले डेढ करोड रुपैयाँ विनियोजना गरेको बताइन्। उनले जुम्लालाई स्याउको नम्बर एक जुस बनाउने केन्द्रका रुपमा स्थापित गर्न सकिने बताइन्। जुम्लाको उत्पादन र आम्दानीको मुख्य स्रोतहरूमध्ये स्याउ पनि एक भएकोले स्याउको बजारीकरण र प्रचारप्रसारको लागि स्याउ महोत्सवको आयोजना गर्न लागिएको स्याउ महोत्सव आयोजक समिति जुम्लाका संयोजक महेन्द्र कार्कीले जानकारी दिए। ‘जुम्लाको स्याउले मध्यपश्चिमका ठूलासाना शहरको आवश्यकता एक/दुई महिना पूर्ति गरे पनि देशभर ब्रान्डिङ हुन अझैँ सकिरहेको छैन’, संयोजक कार्कीले भने, ‘जुम्लाको स्याउ महोत्सवपछि देशभरिबाट जुम्लाप्रति स्याउका व्यापारिक केन्द्रहरूबाट चासो व्यक्त भइरहेको छ।’
कालिकोटको काँचो स्याउ जुम्लाको नाम बेच्दै
जुम्लाका स्थानीय तहले भदौ दोस्रो सातापछि मात्रै स्याउ टिप्न निर्देशन दिएपछि यतिबेला जुम्लामा स्याउ टिप्ने चटारो छ। तर, कालिकोटको काँचो स्याउ जुम्लाको भनेर सुर्खेत, नेपालगञ्जलगायतका विभिन्न शहरमा १ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ। कालिकोटको काँचो स्याउका कारण जुम्लाको बदनाम भएको पातारासी गायपालिकाका अध्यक्ष लक्षिमान बोहोराले बताए। ‘हाम्रो अर्गानिक स्याउले बजार पाएको छैन,’ उनले भने ‘जुम्लाका ब्यापारिले अहिले बगैँचामै २५ रुपैया केजीमा स्याउ बिक्री गर्नु पर्ने बाध्यता छ।’ जुम्लामा उत्पादन हुने स्याउको आफ्नै प्रकारको पहिचान कायम गर्न नसकेको प्रति बोहारले दुःख व्यक्त गरे।
दोस्रो स्याउ महोत्सवमा पुरस्कृत भएका किसान
सोही अवसरमा उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको थियो। रोयल डेलिसियस स्याउतर्फ चन्दननाथ नगरपालिका ७ का रत्नबहादुर बम प्रथम, चन्दननाथ ६ का राजु मल्ल द्वितीय र चन्दननाथ १० का पुस्प खत्री तृतीय भएका छन्। त्यसैगरी, रेडडेलिसियसतर्फ चन्दननाथ ६ का गोरखबहादुर सुनार प्रथम, चन्दननाथ ८ का भैरवबहादुर धराला द्वितीय र गुठिचौर ४ का हरिप्रसाद देवकोटा तृतीय भएका छन्। रबागवानी अनुसन्धानकेन्द्रका राजकुमार गिरी, खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका अमित भूषण सुमन र स्याउ सुपरजोन जुम्लाका जागेन्द्र कान्दुले स्याउको मूल्यांकन गरेका थिए। स्याउको फलको आकार, जातीय शुद्धता, स्याउ फलको रंग, रोगकिराको अवस्था, ग्रेडिङ र प्याकेजिङका आधारमा उत्कृष्ठ किसान छनोट गरिएको थियो।
थाहाखबरबाट