नेपालगञ्ज । गम्भीर विरामी रहेका दुई पत्रकारलाई शहरी विकास मन्त्री मो. इस्तियाक राईले आर्थिक सहयोग गर्नु भएकाे छ । सुर्खेतका पत्रकार डिलप्रकाश शर्मा र बाँकेका पत्रकार रेशम विरहीलाई मन्त्री राईले व्यक्तिगत रुपमा पचास /पचास हजार सहयोग गर्नु भएकाे हाे ।
गृहनगर नेपालगञ्ज आएको मौका पारेर आइतबार बिहान मन्त्री राईले सहयोग हस्तान्तरण गर्नुभयाे । नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुरसिंह थारुलाई पैसा हस्तान्तरण गरिएको थियो ।
बाँके जिल्लामा बसेर लामो समयसम्म पत्रकारिता र यही कै सदस्य रहेका विरही क्यान्सर पीडित छन् । पछिल्लो समय चितवनमा बस्दै आएका उनलाई नेपाल पत्रकार महासंघ, बाँकेले सहयोग गर्दै आएको छ ।
महासंघ बाँकेका अध्यक्ष थारुले करिव दुई लाख रुपैयाँ पठाइसकिएको जानकारी दिए । महासंघका सदस्य तथा सहयोगीदाताबाट संकलन गरेर उक्त रकम पठाइएको थियो । अध्यक्ष थारुले मन्त्री राईले दिएको रकम आज नै पठाइने जानकारी दिनुभयाे ।
देश सञ्चार डटकममा कार्यरत सुर्खेतका पत्रकार शर्मालाई आज नै पैसा पठाइने महासंघका अध्यक्ष थारुले बताउनुभयाे । महासंघ बाँकेले मन्त्री राईसमक्ष विरही र शर्माको नाम नै लेखेर आर्थिक सहयोग गरिदिन पत्र पठाएको थियो ।
मन्त्री राईले दुई पत्रकारलाई आफूले व्यक्तिगत रुपमा पचास÷पचास हजार सहयोग गरेको बताउनुभयाे । ‘महासंघका साथीहरुले बिरामी पत्रकारलाई केही सहयोग गरिदिन आग्रह गर्नु भएको थियो, मैले आज नेपालगञ्ज आएको मौका पारेर हस्तान्तरण गरेको छु, मन्त्री राईले भन्नुभयाे ।