सल्यान : बन्गाड कुपिन्डे नगरपालिका सल्लीबजारका ५८ वर्षीय जीवन सुनार अपांगता भएका व्यक्ति हुन्। अपांगता भएता पनि उनी जीविकोपार्जनका लागि गिट्टी कुट्दै आएका छन्। सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा भत्ता मासिक ६०० रुपैयाँले घर चल्न नसकेपछि गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका उनले बताए।
सम्पत्तिको नाममा एक रोपनी जग्गा भएका सुनारको जन्मजात दुवै खुट्टा सवल छैन। बैशाखीको भरमा उनी हिँडडुल गर्ने गर्दछन्। ‘२०५८ सालमा दार्माबाट सल्लीबजार आए सम्पत्तिको नाममा एक रोपनी आबादी घरबास भएको जग्गा मात्र छ ,’ उनले भने, ‘त्यसमा खाद्यबाली उत्पादन नहुने भएकाले १६ वर्षदेखि गिट्टी कुटेरै जीवन निर्वाह गर्दै आइरहेको छु।’
सरकारले दिने गरेको भत्ताले औषधि उपचार गर्नसमेत नपुग्ने गरेको सुनारले बताए। ‘आफूले गर्नसक्ने काम भएकाले गिट्टीलाई नै आयआर्जनको माध्यम बनाएको छु,’ उनले भने, ‘खुट्टाको समस्याले अरु केही काम गर्न सकिँदैन, घर नजिकै बसेर गिट्टी कुट्छु, अहिले गिट्टी नै मेरो सहारा बनेको छ ।’ दिनभरिमा दुई बोरा गिट्टी कुट्दै आएको सुनारले बताए।
बोराको ६० रुपैयाँमा हुने गरेको छ । साताभरि कुटेको गिट्टी एकैपटक बिक्री गर्दै आएको छ। उनी बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म गिट्टी कुट्छन्। मजदुरी गर्ने भाइले बिहान संकलन गरिदिएको ढुंगाबाट सुनारले गिट्टी उत्पादन गर्ने गर्दै आएका छन्। ‘फुर्सदको समय बिताउन पनि सजिलो भएको छ, आम्दानी पनि हुन्छ,’ उनले भने, ‘कहिले काहीँ भाइको परिवारमा गाह्रोसाह्रो पर्दा हेरफेर गर्ने गरेको छु, गिट्टी कुटेर कमाएको रकमले राम्रै निर्वाह भइरहेको छ ।’ बिक्री गर्न समस्या नभएकाले गिट्टी कुटेर ठिकै आम्दानी भएको उनको भनाइ छ ।
थाहाखबरबाट