सल्यान : सल्यान जिल्ला अस्पतालमा पहिलो पटक इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको हो।
स्वास्थ्य तथ्यांक गुणस्तरीय बनाउन, स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरेदेखि उपचार हुँदा र बाहिरिँदासम्मको अवस्थालाई सफ्टवेयरको सहयोगमा सुरक्षित राख्न र बिरामीको सुरुवाती अवस्थादेखि उपचारसम्मको प्रक्रियालाई जस्ताको त्यस्तै इन्ट्री गर्न इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको निक साइमन इन्स्टिच्युट कर्णाली प्रदेश प्रमुख जनार्दन पाठकले बताए। उनले भने, ‘पुराना विरामी पुनः उपचारमा आउने बिरामीको ब्यवस्थापन गर्न अपूर्ण मेडिकल रेकर्डसिटका भरमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चुनौति हुन्छ त्यसमने लागि यो निकै राम्रो छ।’
जोखिमपूर्ण बिरामीको यथासंभव छिटो अवस्था पहिचान गरी रोगको निदान, गुणस्तरीय मेडिकल रेकर्डले बिरामीको बिगतको उपचार गर्दाको स्थिति जस्ताको तस्तै उपलब्ध गराउने उनको भनाई छ। स्वास्थ्य संस्थाले रोगको वार्षिक ब्यवस्थापन योजना बनाउन, प्रत्येक रोगको स्वास्थ्य संस्थामा उपचार ब्यवस्थापन गर्न, आवश्यक मेशिन उपकरण औजारहरूको ब्यवस्थापन गर्न र अस्पतालमा गरिएका सेवाहरूको मासिक प्रतिवेदन तयार गर्न इएमआर निकै फलदायी हुने सल्यान जिल्ला अस्पतालका डा.प्रदिप शर्माले बताए। उनले भने, ‘पेपरबेसमा आधारित मेडिकल रेकर्डिङ प्रणालीका धेरै सीमाहरू भएको हुँदा स्वास्थ्य तथ्यांकको गुणस्तरका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड जरुरी हुन्छ।’
इएमआर प्रणालीको विकासले बिरामीको आर्थिक भार कम हुनुका साथै डाक्टरको समयको पनि बचत हुने डा. प्रदिप शर्माको भनाई छ। पटक पटक परीक्षण गराउँदा रेडियसन वा यस्तै हानिकारण तत्वले शरीरमा हानी पुर्याउनु भएकाले इएमआर प्रणालीले यसको अन्त्य गर्ने शर्माको भनाई छ। निक साइमन्स इन्स्टिच्युटको करिब ४० लाख र कोजेनको झन्डै ६० लाख गरी एक करोडको लगानी रहेको छ।