जुम्ला : ज्येष्ठ नागरिकले आफुहरुलाई स्थानीय सरकारले अपमान गरेको गुनासो गरेका छन्। ज्येष्ठ नागरिक संघ जुम्लाले शुक्रबार आयोजनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले गुनासो गरेका हुन्।
संघीयता कार्यान्वयनमा आएपछि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने आफूहरुले सोचे पनि स्थानीय सरकारले त्यसको ठीक विपरीत व्यवहार गरेको गुनासो गरेका छन्। ‘यसअघि महिला तथा बालबालिका कार्यालय हुँदा प्रत्येक महिनामा ज्येष्ठ नागरिकको गुनासो सुन्ने गरेको थियो,’ ज्येष्ठ नागरिक संघका अध्यक्ष तीर्थराज भारतीले भने, ‘अहिले स्थानीय समस्या लिएर जाँदा स्थानीय सरकारले समस्याको समाधान गर्नको साटो मगन्तेको रुपमा हेरेर अपमान गरिन्छ।’
उनीहरुका अनुसार महिला तथा बालबालिका कार्यालय हुँदा लक्षित वर्गका लागि आएको बजेट सरोकारवालालाई जानकारी हुन्थ्यो। कार्यक्रमबारे सरोकारवालासँग बैठक पनि हुने गरेको अध्यक्ष भारतीले बताए। ‘अहिले स्थानीय सरकारले लक्षित वर्गको कार्यक्रमबारे थाहा दिँदैनन्।’ संघले ज्येष्ठ नागरिकलाई सहयोग गर्न स्थानीय सरकारलाई ५० वटाभन्दा बढी पत्र लेखे पनि त्यसको कुनै सुनुवाइ नभएको अध्यक्ष भारतीले बताए। उनले भने, ‘पातारासी गाउँपालिकाबाहेक कुनै पनि स्थानीय सरकाले सहयोग गरेन।’