☰ open Loading... 19 April 2024|  

नक्कली फेसबुक एकाउन्टले मुख्यमन्त्रीलाई तनाव !
  | १३ आश्विन २०७६, सोमबार ०९:१८

सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाममा नक्कली फेसबुक एकाउन्ट खोलेर चरित्र हत्या गर्न खोजिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने उद्देश्यका साथ नक्कली आइडीबाट विभिन्न व्यक्ति तथा निकायमा च्याटमार्फत् अवाञ्छित निर्देशन तथा माग गर्ने गरिएको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक तथा आम जनसमुदायसँग अनुरोध गर्दछौँ ।’  स्वकीय सचिवालयले नक्कली फेसबुक आइडी प्रयोग गर्ने व्यक्ति पहिचान गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइसकिएको जनाएको छ ।

मुख्यमन्त्रीको व्यक्तिगत फेसबुक अकाउन्टको लिङ्क महेन्द्र डट शाही डट १६५ रहेकाले यसबाहेक उनको नाम जोडेर चलाइएका अन्य आइडीको विश्वास नगर्न विज्ञप्तीमा आग्रह गरिएको छ ।