☰ open Loading... 23 December 2024|  

राउटेको दशैं : मागीमागी पैसा संकलन, मदिरामा स्वाहा !
  | २५ आश्विन २०७६, शनिबार ०७:३१

सुर्खेत । दशैंको पूर्वसन्ध्यामा ऐनबहादुर शाही गत बिहीवार वीरेन्द्रनगर नगरपालिका तथा प्रदेश सरकारका विभिन्न मन्त्रालय धाइरहेका थिए । राउटे समुदायका लागि दशैं खर्च जुटाउन आएका उनी जसलाई भेट्यो उसैलाई नमस्कार गर्दै पैसा माग्थे ।

अन्य केही राउटेहरू बजारका विभिन्न पसल चहारिरहेका थिए । ‘हामीलाई यो वर्ष दशैं मान्ने खर्च कम भएको छ,’ ऐनले भने, ‘सरकारले दिन्छ कि भनेर आएका हौं ।’

दैलेखको गुराँस गाउँपालिकास्थित कान्छी बजारमा अहिले १४५ जना राउटे बसिरहेका छन् । दशैंमा सरकारले सहयोग गर्ने उनीहरूको आशा छ ।

‘स्थानीय सरकारले हामीलाई खसी देला कि भन्ने आश मान्याका छौं,’ उनले थपे, ‘दशैं मान्नका लागि खर्च जुटाउन एक टोली काठमाडौं गएको छ । कोही दाङ, कोही नेपालगञ्ज गएका छन् । हामी यहाँ आएका छौं ।’

उनले दशैं सबैभन्दा ठूलो चाड भएका कारण यसलाई भव्य रूपमा मनाउन सरकारले आफूहरूलाई सहयोग गर्नुपर्ने उनको माग थियो । ‘हाम्रा जनतालाई सरकारले तत्काल खसी किन्ने रुपैयाँ दिनुपर्छ,’ शाहीले भने, ‘नभए हामीलाई खसी दिएपनि हुन्छ ।’

भक्तपुर दरबार स्क्वायर लगायतका स्थानमा आफूहरूले उत्पादन गरेको हस्तकलाको सामग्री प्रदर्शनी एवं बिक्री गर्न प्रकाश शाहीको नेतृत्वमा एक टोली राजधानी पुगेको खवर लाेकान्तर अनलाइनमा  छ ।

प्रकाशसँगै, शिवराज, दीपक र कलम शाहीसहितको टोलीको टोली सुर्खेत आइसकेको छ । दैलेखमा ४६ घर भएकाले ४६ वटै खसी चाहिने माग उनीहरूले गरे ।

‘हाम्रा ४६ ओटा घरका लागि कम्तिमा ४६ वटा खसी चाहिन्छ,’ उनले भने, ‘सरकारले नदिया हामीलाई कसले दिने हो ?’ उनले दशैं पर्वमा दानदक्षिणा दिनुपर्ने भएका कारण खर्च बढी आउने गरेको बताए । ‘छोरीचेलीलाई दान दक्षिणा दिनुपर्छ,’ उनी भन्छन्, ‘त्यसका लागि हामीलाई धेरै रुपैयाँ चाहिन्छ ।’

सरकारले आफूहरूलाई पैसा दिनुपर्नेमा उनको जोड थियो । दैलेखमा बसिरहेका राउटे समुदायका लागि दशैं धेरै पैसा जम्मा गर्ने पर्वको रूपमा आउने गर्छ, तर उनीहरूले जति पैसा संकलन गरेपनि मदिरामा नै स्वाहा गर्ने गरेका छन् ।

‘राउटे समुदायले दशैंमा देशैभरी पुगेर रुपैयाँ संकलन गर्छन्,’ स्थानीय नन्दकृष्ण आचार्य भन्छन्, ‘उनीहरू नगरपालिका, प्रदेश सरकार, सरकारी तथा गैरसरकारी संघ संस्थामा धाउने गरेका छन् । उनीहरूले ठूलो मात्रामा रकम संकलन गर्ने गरेतापनि त्यो पैसा भने मदिरामा नै सक्ने गरेको मैले पाएको छु ।’

यता, राउटेको बस्ती बसिरहेको गुराँस गाउँपालिका भने राउटेका लागि भत्ता दिइसकिएको बताउँछ । गाउँपालिका प्रमुख खेम वलीले राउटे समुदायको धेरै भार गाउँपालिकाले बोकेको बताए ।

‘हामीले राउटे समुदायका लागि धेरै काम गरिसकेका छौं,’ उनले भने, ‘राउटेले पाउने भत्ता हामीले दिइसकेका छौं । अब राउटेका लागि अन्य के गर्न सकिन्छ हामीले तयारी गरिरहेका छौं ।’

राउटे परियोजना सञ्चालन गरिरहेको सामाजिक सेवा केन्द्र सोसेकले राउटेका लागि केही खसी उपलब्ध गराउने संस्थाका अध्यक्ष हिरासिंह थापाले जानकारी दिए । ‘धेरै त भन्न सकिँदैन, केही खसी उपलब्ध गराउँदैछौं,’ उनले भने ।

उनले राउटेलाई निःशुल्क रूपमा खसी उपलब्ध गराइरहँदा उनीहरूको बानी थप मगन्ते भइरहने बताए । ‘सबैकुरा निःशुल्क दिने गरिएका कारण दिन प्रतिदिन राउटे समुदाय मगन्ते बन्दै गएको छ,’ उनले भने, ‘राज्यले नै नीति बनाएर अघि बढनुपर्छ, नभए राउटे समुदाय लोप भएर जानेछन् ।’