☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

महराले बयानमा भने– रोशनीको कोठामा गएकै छैन, सुरक्षागार्डले हतारिएर भने होलान्

  |

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महराले आफू रोशनी शाहीको कोठामै नगएको दाबी गरेका छन् । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिने क्रममा महराले यस्तो दाबी गरेका हुन् ।

आइतबारमात्रै रोशनीले समेत काठमाडौं जिल्ला अदालतमा निवेदन दिएर महरा आफ्नो कोठामा नआएको दाबी गरेकी थिइन् । तर, उनले दबाबमा आएर पटक–पटक आफ्नो बयान फेर्ने गरेको सरकारी पक्षको दाबी छ । आइतबार महरालाई अदालतले थप ५ दिनको समय अनुसन्धानका लागि दिएको छ ।

महराको भनाइ उद्धृत गर्दै सरकारी वकिल स्रोतले भन्यो, ‘‘म रोशनीको कोठामा गएकै छैन । सीसीटिभीमा समेत त्यो फुटेज छैन । ममाथि त्यसै आरोप लगाइएको हो । तर तीनकुने क्षेत्रमा कामले निस्किएको थिएँ ।’’ आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा महराले झण्डै ७ घण्टा बयान दिएका थिए । तर, उनले प्रहरीलाई साविती बयान दिन भने अस्वीकार गरेका थिए ।

प्रहरीले भने महरा असोज १२ गते बा २० च ५७११ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी चढेर रोशनीको कोठामा पुगेको दाबी गरेको छ । महराको साथमा एकजना चालक र दुईजना सुरक्षा गार्डसमेत थिए । चालक पनि सुरक्षा निकायकै हुन् । महराले आफू रोशनीको कोठामा नगएको दाबी गरे पनि उनीसँगै गएका तीनजनै सुरक्षाकर्मीले महराले रोशनीको कोठामा गएको स्वीकार गरेका छन् । उनीहरुले प्रहरीमा लिखित बयान दिएका हुन् ।

एक उच्च प्रहरी अधिकारीले भने, ‘‘महराको कल लोकेसन १२ असोजमा रोशनीको कोठामा नदेखिएकाले उनले नगएको दाबी गरेका हुन् । तर अन्य प्रमाणहरु छन् । सुरक्षाकर्मीको बयान पनि छ । कोठाबाट चश्मा, जुत्ताको सोल बरामद गरेका छौं । यसबाट धेरै कुरा अदालतमै प्रष्ट हुनेछ ।’’

१२ असोजमै राति रोशनीले आफूमाथि महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन् । त्यही राति प्रहरीले घटनास्थलमा भेटिएका सामान बरामद, भिडियो कैद र रोशनीको अनौपचारिक बयान समेत लिएको थियो । महराले १४ गते सोही प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन भन्दै सभामुख पदबाट राजीनामा दिएका थिए ।

रोशनीले प्रहरी वृत्त बानेश्वरमा महराले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् । त्यसयता उनले लगातार सञ्चारमाध्यममा फरक–फरक बयान दिँदै आएकी छन् ।

महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले डिस्चार्ज नगरेकाले आइतबार समेत अदालतबाट अस्पतालमै फर्काइएको थियो ।

प्रहरीले रोशनीको कोठाबाट महराको भनिएको चश्मा, जुत्ताको सोल लगायतका सामग्री बरामद गरेर फरेन्सिक चेकजाँचका लागि पठाएको छ । यस्तै रोशनीको शरीरमा लागेको चोटको समेत परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा रोशनीको शरीरमा देखिएको चोट अन्य व्यक्तिबाट लागेको पाइएको छ । चश्मा, जुत्ताको सोल लगायतका सामग्रीको फरेन्सिक रिपोर्ट आएको छैन । रिपोर्ट आएपछि अभियोगपत्र तयार हुने र जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा सो अभियोग दायर हुनेछ । अभियोगपत्र दायर भएपछि महरालाई पुर्पक्षका लाथि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने अदालतले आदेश दिनेछ ।

प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६     12:11:08 PM
error: Content is protected !!