☰ open Loading... 24 December 2024|  

कर्णाली प्रदेश सरकारसँग छैन गाडीको लाइसेन्स दिने क्षमता
  | ५ कार्तिक २०७६, मंगलवार ११:२२

सुशील खड्का
सुर्खेत । अघिल्लो वर्ष पुस ५ गते सुर्खेतमा रहेको यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सेवाको सुरुवात ग¥यो । उक्त सेवाको सुरुवात गर्न प्रदेश सरकारका तीन जना मन्त्रीहरु पुगे । सोही अवसरमा प्रदेश सरकारले घोषणा ग¥यो,‘अबको तीन महिना भित्रमा सुर्खेतबाटै सवारी चालक अनुमति पत्र वितरण हुनेछ ।’

तर लाइसेन्सको नविकरणको सेवा सुरु भएको १० महिना वित्यो । हालसम्म पनि सुर्खेतबाट नयाँ लाइसेन्स जारी गर्न प्रदेश सरकार असफल भएको छ । यतिसम्म की आवश्यक कर्मचारी र पूर्वाधारको व्यवस्थापन गर्न नसक्दा अब कहिलेबाट यो सेवा सुरु हुन्छ भन्नेमा अन्यौल नै छ । यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा आएपछि यसअघि लाइसेन्स वितरण हुँदै आएको कर्णालीको एक मात्र स्थान जुम्लामा पनि हाल उक्त सेवा बन्द भएको छ ।

संघीयताले आँगनमै सेवा उपलब्ध हुने अपेक्षा गरेका कर्णालीबासी अहिले पनि सवारी संचालनका लागि आवश्यक पर्ने लाइसेन्सका लागि प्रदेश ५ र अन्य जिल्लामा जान बाध्य छन् । प्रदेश सरकारले महत्व र प्राथमिकता नदिएकै कारण हाल कर्णालीबाट नयाँ लाइसेन्स जारी हुन सकिरहेको छैन ।

बरु यसबाट प्राप्त हुने करोडौं राजस्व कर्णाली सरकारले गुमाइरहेको छ । प्रदेश सरकारले कर्णालीबाटै लाइसेन्स वितरण गर्ने बारम्बार प्रतिबद्धता पनि जनाउने गरेको छ । तर त्यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति र भौतिक पुर्वाधार व्यवस्थापन गर्न प्रदेश सरकारले सकिरहेको छैन ।

प्रदेश सरकारले लाइसेन्स वितरणका लागि हालसम्म न आफ्नै ट्रायल सेन्टर निर्माणको योजना बनाएको छ, न त परिक्षा संचालनका लागि आवश्यक गृहकार्य नै गरेको छ । यति सम्मकी प्रदेश सरकारका अधिकारीहरु नै तत्काल लाइसेन्स वितरण सम्भव नभएको बताउँछन् । आवश्यक प्राविधिक कर्मचारीको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालै लाइसेन्स वितरणको काम सम्भव नभएको सरकारी अधिकारीहरुको भनाइ छ ।

यसकारण पनि प्रदेश सरकार सवारी साधन संचालनका लागि आवश्यक पर्ने चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने असक्षम देखिएको छ । हाल सुर्खेतबाट सवारी साधनको कर, रुटपरमिट, सवारी दर्ता, नविकरण, नामसारी र सवारी जाँचपासको मात्र काम हुँदै आएको छ ।

 

दक्ष कर्मचारी नहुँदा जुम्लामा एक वर्षदेखी वितरण बन्द

कर्णाली प्रदेशमा जुम्लामा रहेको यातायात व्यवस्था सेवा कार्यालयले मात्रै सवारी चालक अनुमति पत्र वितरण गर्दै आएको थियो । बाँकी नागरिकले नेपालगंज र अन्य जिल्लामा रहेका यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स सम्बन्धी काम गर्नुपर्ने बाध्यता थियो । तर जुम्लामा पनि प्राविधिकतर्फका मेकानिकल सुपरभाइजर इन्जिनियर नहुँदा नयाँ लाइसेन्स वितरणको काम एक वर्षदेखी बन्द छ ।

प्रदेश सरकारले प्राविधिक कर्मचारीको व्यवस्था गरिदिने र काम शुरु गर्ने भने पनि हालसम्म कुनै कर्मचारी नआएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख निरजंग शाहीले बताए । कर्मचारी अभावका कारण सेवा प्रवाह नै बन्द गर्नु परेको उनको भनाइ छ । लाइसेन्स वितरण बन्द भएपछि सेवाग्राहीलाई प्रदेश ५ को नेपालगंज लगायतका स्थानमा पुग्नुपर्ने बाध्यता आइलागेको हो ।

 

अहिले नै काम सुरु हुन्छ भन्न सक्ने अवस्था छैन

रामआधार साह, सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय

सुर्खेतबाट नयाँ लाइसेन्स वितरणका लागि सेवा करार कार्यविधि बनाउँदै छौं । यो कार्यविधि महिले मुख्यमन्त्री कार्यालयमा छलफलकै चरणमा छ ।

प्राविधिकतर्फका कर्मचारी विना नयाँ लाइसेन्स जारी गर्न सकिदैन् । त्यसकारण पनि हामी पहिला प्राविधिकतर्फका कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्नेमा छौं ।

प्राविधिक र अन्य कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यविधि नबन्दासम्म टुङ्गो लाग्दैन ।

कर्मचारीको टुंगो लागेमा मात्र यहाँबाट लाइसेन्स वितरण गर्न सकिन्छ । यसकारण पनि मन्त्रालय पहिला कर्मचारीको जोहो गर्दैछ । हामी यहाँबाटै नयाँ लाइसेन्स जारी गर्नका लागि स्पीडमा काम गरिरहेका छौं ।

तर पनि कर्मचारी संगठन तथा व्यवस्थापन भए पनि त्यसको व्यवस्थापनमा केही समय अवस्य लाग्छ ।

यसकारण पनि अहिले नै कहिलेबाट वितरणको काम सुरु हुन्छ अहिले नै भन्न सक्ने अवस्था छैन ।

तर पनि कार्यविधि बनेर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्बाट स्वीकृत भएको भोलीपल्टबाट नै हामी नयाँ लाइसेन्स वितरणको प्रक्रिया शुरु गर्नेछौं । यो मेरो प्रतिवद्धता नै हो ।

ट्रायल सेन्टर र परीक्षा हल नहुँदा समस्या भयो

सुनिल लिम्बु, प्रमुख, यातायात व्यवस्था कार्यालय, सुर्खेत

हामीले अहिले नै नयाँ लाइसेन्स वितरण गर्न सक्ने अवस्था छैन । हामीसँग कर्मचारीको अभाव छ । कर्मचारी अभावकै कारण नयाँ लाइसेन्स वितरण सुरु गर्न नसकिएको हो ।

कार्यालयमा हाल उपलब्ध कर्मचारी पनि अपुग भएको छ । थप कर्मचारी उपलब्ध नहुँदासम्म हामीले नयाँ लाइसेन्स जारी गर्नसक्ने अवस्था छैन ।

भौतिक मन्त्रालयले १५ जना कर्मचारीको दरवन्दी स्वीकृत गराए पनि हाल कर्मचारीको व्यवस्थापन हुन सकेको छैन ।

अर्को मुख्य समस्या भनेको हामीसँग आफ्नै ट्रायल सेन्टर र परीक्षा हल पनि छैनन् । त्यसको लागि आवश्यक पूर्वाधार नहुँदा पनि तत्काल यहाँबाट लाइसेन्स वितरण गर्न कठिन भइरहेको हो ।

स्थायी दरवन्दीका कर्मचारी नआए पनि कम्तीमा करारमै कर्मचारी पठाइदिए पनि हामी काम गर्न तयार छौं ।

तर त्यसको पनि हालसम्म कुनै टुङ्गो लागेको छैन । तर पनि हामी सुर्खेतबाट नयाँ लाइसेन्स जारी गर्नकै लागि प्रयासरत छौं ।

पहिलादेखि नै सुर्खेतबाट लाइसेन्स वितरण गर्ने तयारी गरिरहेका थियौं । तिहार लगत्तै यो सेवा शुरु गर्न सक्छौं की भनेर जुटिरहेका छौं ।

 

याे समाचार सुर्खेतबाट प्रकाशित हुने युगअाह्वान दैनिकमा प्रकाशन भइसकेकाे छ ।