नेपाली कांग्रेसनिकट तरुण दल नेपालगञ्ज नगर कमिटीका अध्यक्ष सन्दीपजंग शाहसहित ६ जनालाई हतियारसहित पक्राउ गरेपछि कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाही विवादमा मुछिएका छन् ।
सन्दीपजंग शाहसहित ६ जनालाई कोहलपुर प्रहरीले गएराति कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो । तरुण दलले भने कोहलपुर प्रहरीले झुटा आरोपमा फसाउने र सामाजिक आतंकसिर्जना गर्न आफैंले सन्दीपजंग शाहको गाडीमा हतियार राखी पक्राउ गरेर फसाउन खोजेको आरोप लगाएको छ । हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’जाँच गरेर सत्यतथ्य बाहिर ल्याउनसमेत तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले मागसमेत गरेका छन् ।
डीएसपीले दसैंमा खसी मागे
यसैबीच डीएसपी शाहले दसैंमा तरुण दलका बाँके जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरीका लागि खसी मागेको अडियो सार्वजनिक भएको छ ।
अडियोमा डीएसपी शाहले भनेका छन्, ‘दसैं मान्ने भन्छन् प्रहरीहरुले के छ भाइ?हामीले त भाइहरूलाईनै भन्ने हो क्या रे ! एउटा खसी पठाए आभारी नै हुने थियौं,’ सार्वजनिक भएको अडियोमा उनले भनेका छन्,‘बडाभोज गर्ने चलन पनि छ, त्यसका लागि चाहियो भोज आज बेलुका नै रहेछ ।’
तरूण दलका काेषाध्यक्षलाई धम्की
मागेअनुसार खसी नदिएको भन्दै डीएसपीले शाहसहितका ६ जनालाई पक्राउ गर्नुअघि कोषाध्यक्ष खड्कालाई आफूले चाहे तिघ्रा छेड्ने धम्कीसमेत दिएकोतरुण दलको दाबी छ ।
डीएसपी भन्छन्ः अडियो भेरिफाई होस्
तर, डीएसपी शाह भने तरुण दलको दाबी अस्वीकार गर्दै आफूले खसीको विषयलाई कुनै अपराधसँग जोडेर प्रतिशोध साध्न नमिल्ने बताउँछन् ।
‘दसैंमा खसीनै मागेको हो भन्ने कुरा गलत हो, एउटा डीएसपीले खसीका लागि बार्गेनिङ गर्ने कुरा आफैंमा हाँस्यास्पद छ । अडियो भए त्यो भेरिफाई हुनुपर्यो,’ डीएसपी शाहले भने, ‘तर, कहिलेकाहीँ दाजुभाइको सम्बन्धले केही कुरा सेयर भएको भए त्यसलाई अपराधसँग जोडेर चरित्रहत्या गर्न मिल्दैन ।’
यसअघिसमेत डाका मुद्दाका फरार अभियुक्त नरेन्द्र न्यौपानेलाई कोहलपुर प्रहरीले नेपालगञ्ज जमुनाहनजिकबाट पक्राउ गरेर कोहलपुर ल्याउदै गर्दा बाटोमा गोली हानेको आरोप लागेको थियो । शाह एक महिनाअघि कोहलपुर प्रहरी प्रमुखको रूपमा सरुवा भएर पुगेका हुन् ।