सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बाटो हुँदै चिन्तामणि शर्मा हरेक दिन इत्राम जानुपर्थ्यो । मन्त्रालय अगाडीको बाटो हिडि नसक्नु थियो । पक्की सडकमा भन्दा उनी कच्ची सडकमा मोटरसाईकल र कार दौडाउने गर्थे । ‘हिजो आज प्रहरीले खाल्डा पुरेका कारण यो बाटो हिड्न आनन्द आउँछ । खाल्डा खुल्डी पुरिएका छन् ।
टायर पन्चर हुने र जीउ हल्लिने समस्याको केहि समयका लागि भएपनि अन्त्य भएको छ,’ उनी प्रश्न गर्छन्, ‘देश सेवक कर्मचारीले नै सडकका खाल्डा खुल्डी पुर्नुपर्ने हो भने सरकारले के काम गर्ला ?’
उसो त कर्णाली प्रदेश सरकार स्थापना भएको झण्डै २१ महिना पुगेको छ तर राजधानी र प्रदेशको नाउँ सबैभन्दा पहिला तोक्न सफल कर्णाली सरकार आफ्नै मन्त्रालय अगाडीका सडकको कालोपत्रे गर्न त परै जाओस्, खाल्डासम्म पुर्न सकेन बरू अर्बौं रुपैयाँ फ्रिज गराउन सफल भयो ।
‘मुख्यमन्त्री निवास जाने बाटो, वीरेन्द्रनगर पालिका जाने बाटो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको अगाडीको बाटो हिडि नसक्नु थियो,’ दिनहुँ वीरेन्द्रनगरमा यी बाटोहरु प्रयोग गर्दै आइरहेकी रमिता शाही भन्छिन्, ‘स्कुटी चलाउँदा जता कच्ची र कम खाल्डो छ हेरेर मात्रै हिडनु पर्ने अवस्था थियो । यो अवस्थालाई सरकारले नहेरेपनि प्रहरीले हेरिदियो धन्यवाद छ प्रहरीलाई ।’
यी दुई प्रतिनिधिमुलक पात्र मात्रै हुन् । पैदलयात्री राकेश पौडेलले सरकारले कहिल्यै बाटो सुधारबारे चासो दिन नसकेको बताउँछन् । ‘तीन तहका सरकार गठन भए जनताले सुविधा पाउँछन भन्ने थियो तर सास्ती मात्र पाइयो,’ उनी भन्छन्, ‘जुँगाको लडाई हो वा राजनीतिक खिचातानी हो वीरेन्द्रनगरको अवस्था दयनीय नै हुने भो ।’
वीरेन्द्रनगरमा नगरप्रमुखमा देवकुमार सुवेदी नेपाली कांग्रेसबाट निर्वाचित भएका कारण प्रदेश सरकारले लगानी गर्न हच्किएको हो की भन्ने आशंका आफूलाई लाग्न थालेको उनको भनाई छ । ‘जो जुन दलबाट जितेर आएपनि उनीहरु सबैको काम विकास निर्माण गर्नु नै हो,’ उनी भन्छन्, ‘राजनीतिक फाइदाभन्दा पनि देशलाई के गर्दा फाइदा हुन्छ भन्नेमा सरकारहरुको ध्यान कहिले जाने हो खोइ ?’
अन्य देशका प्रहरीहरुको काम शान्ति सुरक्षा, अमनचयन कायम गर्नु हो । जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिनु हो अनि जनताको ज्यू धनको सुरक्षा गर्नु, आपत विपतमा उद्धार गर्नु र देशको शासन व्यवस्थाको सुरक्षा गर्नु पनि हो । तर हिजो आज कर्णाली प्रदेशमा यो बाहेक अन्य तस्विरहरु देखिन थालेका छन् ।
हरेक शनिबार प्रहरीले मन्दिरहरुको सरसफाई गर्दै आइरहेको छ । केहि दिनदेखि प्रहरीले राजधानी वीरेन्द्रनगरका सडकमा परेका खाल्डाखुल्डी पुर्ने गरिरहेको छ । तर जसले सडक बनाउने जिम्मा पाएको हो, जसले विकास गर्नुपर्ने हो, जसले जनताको सेवा गर्छौं देश बनाउँछौं भनेर जनताको मत ल्याइ सत्तामा आएका छन ती रमिते बनेका छन् ।
सडकको खाल्डा खुल्डी पुर्ने काम विगत एक हप्ता देखि वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश शसस्त्र प्रहरी गण नेपाल प्रहरी कर्णाली प्रदेशले गर्दै आएको छ ।
यता, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको यसबारेमा धारणा लिन खोज्दा उनको फोन उठेन । #लाेकान्तरबाट