सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सीट थप्ने सवारीलाई कारवाही गरेको छ । यातायात व्यवस्था विभागले तोकेभन्दा बढी सीट राख्ने सवारीसाधनलाई ट्राफिकले कारवाही गरेको हो ।
वीरेन्द्रनगरमा बुधबार गरिएको अनुगमनका क्रममा एकसय ७२ सवारीसाधनलाई कारवाही गरिएको ट्राफिक प्रमुुख उदयसिंह सिजापतिले जानकारी दिए । उनले दुई घण्टामा गरिएको अनुगमनका क्रममा ति सवारी साधनलाई कारवाही गरिएको बताए ।
बसपार्कमा एकसय २५ र बाँकी बजार क्षेत्रमा गरिएको चेकजाँचका क्रममा कारवाही गरिएको हो । बढी यात्रु बोक्न मनलाग्दी थपिएका सीटहरु निकालिएको सिँजापतिले उल्लेख गरे ।
यो कार्यलाई अझै तिव्रता दिइने बताउँदै उनले मापदण्ड विपरित क्षमताभन्दा बढी सीट आफुखसी राख्दा दुर्घटना बढेकाले कडाइ गरिएको उल्लेख गरे । फोर्स गाडीहरुले व्यवसायीक फाइदाका लागि सीट बढाउने गरेको अनुगमनका क्रममा फेला पारेको उनले जनाए ।