☰ open Loading... 17 November 2024|  

१८ महिनामै भेरी नदीकाे पानी सुर्खेत उपत्यका ल्याउने तयारी
  | ८ मंसिर २०७६, आईतवार १८:३६

दोस्रो चरणको डिपीआर तयार हुँदै

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत उपत्यकामा भेरी नदीको पानी ल्याउने कसरत जारी छ । वीरेन्द्रनगरमा बढ्दो खानेपानीको संकट टार्न भेरीको पानी ल्याउन लागिएको हो । यसका लागि दोस्रो चरणको (आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन) डिपीआर बनाउने काम थालिएको हो ।

हाल उपत्यकामा खानेपानीको अभाव छ । हाल आपूर्ती भइरहेको स्रोतले खडेरीमा संकट नै हुने गरेको छ । यही संकटलाई दिर्घकालिन रुपमा समाधान गर्न भेरीको पानीलाई उपत्यकामा ल्याउन लागिएको हो । भेरीको पानीलाई पम्पिङ्ग गरेर उपत्यकामा ल्याउनका लागि प्रयास भइरहेको छ । यही प्रयास स्वरुप अब दोस्रो चरणको डिपीआर तयार पार्न लागिएको हो । यो प्रतिवेदनका आधारमा भेरीको पानी उपत्यकामा ल्याउनका लागि टेण्डरको काम हुनेछ ।

खानेपानी संकट टार्न सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खरी–बोरी खोलाबाट ३० लिटर प्रतिसेकण्ड पानीको स्रोत थपे पनि समस्या उस्तै छ । उपभोक्ता संस्थाले खोलाका मुहानहरु थप्दा पनि उपत्यकाको खानेपानी संकट टर्ने अवस्था नभएपछि दु्रत गतिबाट भेरीको पानी ल्याउने प्रक्रिया अगाडि बढेको हो । पहिलो चरणमा सीएमएस जेभीले तयार पारेको डिपीआर प्रतिवेदन अनुसार तीनवर्ष भित्रमा भेरीको पानी उपत्यकामा ल्याउन सम्भव देखिएको छ । यही प्रतिवेदनको आधारमा हाल दोस्रो चरणको डिपीआर बनाउने काम भइरहेको हो ।

अब भेरी नदीमा सम्पवेल परिक्षण (पानीको गुणस्तर मापन, पम्पिङ्ग गर्न सकिने पानीको मात्रा र गहिराइको अवस्था हेर्न) गर्न दोस्रो चरणको डिपीआरको काम अगाडि बढाउन लागिएको हो ।

खानेपानी तथा ढल व्यवस्था विभागका जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाका उपमहानिर्देशक अनिलभद्र खनालले दोस्रो चरणको डिपीआरको काम आउँदो माघमा सम्पन्न हुने बताए । उपत्यकाको खानेपानी संकट टार्नेगरी भेरीको पानी ल्याउन दोस्रो चरणको डिपीआर बनाउन लागिएको उनको भनाइ छ ।

उपत्यका खानेपानी संस्थाले हाल झुप्रा मुहानसहित खरी–बोरी खोला, इत्राम खोला, खोर्के खोला र बुलबुले तालको पानी आपूर्ति गर्दै आएको छ । हाल उपत्यकामा प्रतिदिन एक करोड ४५ लाख लिटर खानेपानी आवश्यक पर्दछ ।

औषतमा हिउँदको समयमा एक करोड ३५ लाख लिटर र सुख्खा खडेरीमा न्यूनतम औषत ८६ लाख लिटर मात्रै खानेपानी उपलब्ध हुने गरेको छ । सुर्खेत उपत्यकामा हाल प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ । दुईवर्ष अघिदेखि झण्डै पाँच हजार उपभोक्ताले धारा जडानका लागि आवेदन दिए पनि संस्थाले जडान गर्न सकेको छैन ।

यसै वर्षभित्र टेण्डर

दोस्रो चरणको डिपीआर तयार भएपछि आयोजनाको काम थाल्न टेण्डरको प्रक्रिया थालिनेछ । जतिसक्यो चाँडो यो आयोजना सम्पन्न गर्ने तयारी सरकारको छ ।

यसकारण पनि यसै वर्षभित्र आयोजना निर्माणका लागि टेण्डर आह्वान गरिने भएको हो । उपमहानिर्देशक खनालले भने,‘भेरी नदीमा कति सम्पवेल राख्न सकिन्छ भन्ने एकिन रिपोर्ट आएपछि मात्र लागतसहितको प्रतिवेदनका आधारमा निर्माणको काम थाल्नेछौं ।’

उनका अनुसार डिपीआर बनेको १८ महिनामा भेरी नदीको पानी वीरेन्द्रनगर–११ मा रहेको अमृत डाँडामा पु¥याइने छ । सम्पवेल र पाइपलाइन विस्तारको काम एकैपटक अघि बढाउने खनालले जनाए । पम्पिङ्गमार्फत अमृतडाँडामा ल्याइने भेरीको पानी तीन सय ५० लिटर प्रतिसेकेण्डका दरमा आपूर्ति हुनेछ ।

झण्डैं तीन अर्ब खर्च लाग्ने

प्रदेश राजधानी भएसँगै उपत्यकामा जनसंख्या बढ्दो छ । बढ्दो जनसंख्या र खानेपानीको माग पूरा गर्न भेरीको पानी ल्याउने पहिलो विकल्प हो । यसकारण पनि खर्चिलो भए पनि यो आयोजना निर्माणमा सरकार जुटेको हो । यो आयोजना सम्पन्न गर्न झण्डै तीन अर्ब अर्थात दुई अर्ब ७० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

पम्पिङ्ग गरिएको भेरीको पानी अमृतडाँडास्थित निर्माण हुने इन्टेकमा झारिनेछ । जहाँ ४० लाख लिटरका चार वटा इन्टेक निर्माण हुनेछन् । भेरी नदीदेखी अमृतडाँडासम्मको दुरी पाँच हजार पाँचसय मिटर उचाइमा छ ।

भेरी नदीमा रहने इन्टेकदेखी एक सय ३५ मिटरको दुरीमा पानी प्रशोधन केन्द्रहरु रहने सुर्खेत उपत्यका खानेपानी संस्थाले जनाएको छ । अमृतडाँडामा पानी झारिने र उपत्यकामा पानी वितरण हुनेछ ।

चिंङ्गगाड र च्यारकुले खोलाको दोभानबाट पानी ल्याउन सम्भव

वीरेन्द्रनगरमा सिँचाईका लागि प्रस्ताव गरिएको चिंङ्गगाड र च्यारकुले खोला दोभानको पानी वीरेन्द्रगरमा ल्याउन सम्भव देखिएको छ । लेकवेशी नगरपालिका–५ खल्टाकुरा र चिंङ्गगाड गाउँपालिका–६ किमतडाको बिचमापर्ने दोभानको पानी वीरेन्द्रनगर ल्याउन सम्भव देखिएको हो ।

स्थलगत निरिक्षणका क्रममा प्रति सेकेण्ड तीन हजार लिटर पानी आपूर्ती गर्न सकिने देखिएको सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए ।

भेरीको पानीसँगै विकल्पको रुपमा चिंगाड र च्यारकुले खोलाको पानी आपूर्ती गर्न सम्भव देखिएको उनको भनाइ छ । ‘दुई वटा खोलाको दोभानको पानी वीरेन्द्रनगरको बस्तीपुर डाँडामा ल्याउन झण्डै ४५ किलोमिटरको दुरीपर्छ’ देवकोटाले भने, ‘त्यहाँको पानी आपूर्ती गर्दा तल्लो तटिय क्षेत्रका कृषकहरुलाई पनि कुनै असर गर्दैन ।’ उपत्यकाको अल्पकालिन र दिर्घकालिन खानेपानी संकट टार्न यो आयोजनासमेत अघि बढाइने जनाए । (याे समाचार सुर्खेतबाट प्रकाशीत हुने युगअाह्वान दैनिकमा प्रकाशित भइसकेकाे छ ।)