☰ open Loading... 17 November 2024|  

सार्वजनिक स्थलमा सीसी क्यामेरा नहुँदा सुरक्षा चुनौती
  | १० मंसिर २०७६, मंगलवार ११:४७

सुशील खड्का
सुर्खेत ।
घटना १ : गत साउन १५ गते वीरेन्द्रनगरस्थित बसपार्क नजिकै मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दियो । ठक्कर दिएर मोटरसाइकल त्यहाँबाट भाग्यो । ठक्करबाट गम्भिर घाइते भएकी ति महिलाको उपचारकै क्रममा मृत्यु भयो । घटनापछि भागेको मोटरसाइकल खोज्न प्रहरीले धेरै मेहनत ग¥यो । अन्तिममा प्रहरीले सीसी क्यामेरातर्फ नजर लगायो । घटना भएको करिब ९ घण्टामा नै सीसी क्यामेराको सहायतमा मोटरसाइकलक र त्यसका चालक प्रहरी नियन्त्रणमा पुगे ।

घटना २ : गत भदौ १३ गते वीरेन्द्रनगरको कटकुवामा ठूलो संख्यामा गाईगोरु मृत भेटिए । प्रहरीले गाई कहाँबाट ल्याइएर सडक किनारामा फालियो भन्ने अनुसन्धान अघि बढायो । घटना स्थलमा कुनै दरिलो प्रमाण नभेटिएपछि प्रहरीले वीरेन्द्रनगर बजार क्षेत्रमा जोडिएका सीसीटिभी क्यामेरामा आँखा लगायो । क्यामेराको रेकर्डमा मध्यराती लस्करै लागेका ट्रक दैलेख सडकतर्फ प्रस्थान गरेको देखिएपछि अनुसन्धान त्यतैतर्फ सोझियो । र गाई ओसार्न प्रयोाग भएका पाँच वटा ट्रकलाई प्रहरीले बवईबाट नियन्त्रणमा लियो ।

माथि उल्लेखित दुई वटा घटना प्रतिनीधिमुलक हुन् । कर्णालीको राजधानी सहर वीरेन्द्रनगरमा बढ्दै गएको जनघनत्वले अपराधिक क्रियाकलाप पनि बढ्दो क्रममा छन् । सडक दुर्घटना, चोरी तथा लुटपाट, जघन्य अपराध लगायतका घटनाहरु भइरहेको बेला बजार क्षेत्रमा जडान गरिएका केही सीसीटिभी क्यामराको सहयताले प्रहरीलाई अनुसन्धानमा सहज बनाएको छ । त्यतिमात्र होइन, अपराधलाई पनि हतोत्साहित बनाएको प्रहरीको दाबी छ । यद्यपी वीरेन्द्रनगरमा हाल जडान भएका क्यामेरा कम भएको प्रहरीको निस्कर्ष छ ।

दुईवर्ष अघि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गरिएको थियो । वीरेन्द्रनगर नगरपालिका र सुर्खेत उद्योग बाणिज्य संघले नगरका ३१ स्थानमा सीसीटिभी क्यामेरा जडान गरेका थिए । त्योबाहेक हालसम्म राजधानी सहरका अन्य स्थानमा सीसी क्यामेरा जडान भएका छैनन् । फोरलेन सडकमा सीसी क्यामेरा जडानको योजना पनि अलपत्र छ । यस्तै यसअघि जडान भएका ३१ क्यामेरा मध्ये हाल ६ वटा विग्रिएका छन् । तिनको मर्मतसमेत गर्नमा कसैले चासो दिएका छैनन ।

क्यामेरा जडानले वीरेन्द्रगरमा व्यवसायिक सुरक्षा, अपराधिक गतिविधि तथा सडक दुर्घटना रोक्न प्रहरीलाई सहयोग पुगेको छ । वीरेन्द्रनगरमा अपराधिक गतविधिमा संलग्न भएर भागेर जाने मुख्यद्वार पुग्दासम्म प्रहरीले पक्राउ गर्नमा सहजता हुने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एमम् डीएसपी रवी रावल बताउँछन् । वीरेन्द्रनगर बजार क्षेत्र र मुख्य चौकका क्यामेराहरुको निगरानी प्रहरीले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट गरिरहेको छ । तर नगरका अन्य सार्वजनिक स्थल जहाँ मानिसहरुको भीडभाड बढी हुने र अपराधिक हिसावले संवेदनशिल मानिएका स्थानमा सीसी क्यामेरा नहुँदा शान्ति सुरक्षामा चुनौती थपिएको प्रहरीको भनाइ छ ।

संवेदनशील क्षेत्रमा क्यामेरा आवश्यक
वीरेन्द्रनगरका मंगलगढी चौक, बसपार्क, नेता चौक, नगर प्रहरी तथा नेकपाको कार्यालय अगाडी, बुद्धपथ, वीरेन्द्रचौक, पीपल चौतारा, यरीचौक लगायतका स्थानमा क्यामेरा जडान गरिएको छ । ति स्थानका क्यामेराले दृष्य र भिडियो रेकर्ड गरिरहेका छन् । तर भित्री सडक र फोरलेन सडकमा हालसम्म थप क्यामरा जडान गरिएको छैन ।

वीरेन्द्रनगरमा हुने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न सबै ठाउँमा सीसीटिभी क्यामेरा जडान गर्नुपर्ने कर्णाली प्रदेश प्रहरी कार्यालयका डीआईजी पूर्णचन्द्र जोशी बताउँछन् । उनले सीसी क्यामेरा कुनै पनि घटनाको अनुसन्धान गर्ने सुराकी, साक्षी र प्रमाण भएकाले जडानमा पहल गरिरहेको बताए ।

वीरेन्द्रनगरमा मात्र नभइ, अब प्रदेशका सबै जिल्लामा सुरक्षा संवेदनशिलता रहेका स्थानमा सीसी क्यामेरा जडान गर्नुपर्ने प्रहरीको भनाइ छ । सीसी क्यामेराले मनोवैज्ञानिक रुपमा पनि अपराधीहरुलाई कमजोर बनाउने भएकाले प्रदेशका सार्वजनिक स्थलमा सीसी क्यामेरा आवश्यक हुने प्रहरीले जनाएको छ ।

कार्यालयमा मात्र धेरै
कर्णालीका जिल्लाहरुमा सार्वजनिक स्थलभन्दा कार्यालय र संस्थागत रुपमा बढी सीसीटिभी क्यामेरा जडान भएका छन् । कर्णालीका १० जिल्ला मध्ये सुर्खेतमा ३५, दैलेखमा १८, जाजरकोटमा २४, सल्यानमा १६, रुकुमपश्चिममा २४, जुम्लामा २९, हुम्लामा २९, मुगुमा ४८, कालिकोटमा १० गरी दुई सय ४१ वटा सीसी क्यामेरा जडान भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिना बताउँछन् ।

उनकाअनुसार यी मध्ये प्रहरीको बजेटबाट पिाँच र कार्यालय तथा संस्थागतबाट एक सय ८७ वटा हुन् । तर प्रहरीले एक सय २० वटा र कार्यालय तथा संस्थागत क्षेत्रले एक २१ वटा सीसीटिभी क्यामेराको निगरानी गर्दै आएको प्रवक्ता तिम्सिनाले जनाए ।

प्रदेश सरकार र स्थानीय  तहबाट बजेट विनियोजन
प्रदेश राजधानीलाई सुरक्षित बनाउने उदेश्यसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक करोड र वीरेन्द्रनगर नगरपालिकाले ४० लाख बजेट विनियोजन गरेका छन् । नगरपालिकाले फाइबर विछ्याउने गरी डीपीआर नै तयार गरेर टेण्डर गर्ने प्रक्रियामा थियो । तर मन्त्रालयले प्रदेशबाट नै गर्ने भनेपछि नगरपालिकाको काम रोकिएको छ ।

धुलियाविटदेखी बांगेशिमल र कपासेदेखी पर्सेनी तथा हटलाईन सडकमा आफ्नै फाइबर विच्छ्याएर सीसी क्यामेरा जडान गर्ने तयारी गरिएकोमा हाल काम रोकिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रकाशकिय अधिकृत टिकाराम ढकालले बताए ।

मन्त्रालयसँगको छलफलमा तत्कालका लागि काम नगर्न भनेपछि जडानको प्रक्रिया अघि नबढेको ढकालले उल्लेख गरे । नगर क्षेत्रमा सीसीटिभी क्यामेरा जडान अत्यावश्यक रहेको ढकालको भनाइ छ । तर मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले मन्त्रालय, प्रहरी वा नगरपालिका कहाँबाट काम गर्ने भन्ने विषयमा निर्णय नभएको जानकारी दिए । मन्त्रीपरिषद्बाट निर्णय गराउन लागिएको यादवले बताए । केही महिनामै कुन निकायबाट कार्यान्वयनमा लैजाने भन्ने टुंगो लाग्ने यादवको भनाइ छ । (युगअाह्वान दैनिकबाट)