सुशील खड्का
सुर्खेत । वीरेन्द्रनगरस्थित बुद्धपथमा एउटा सानो घुम्टी छ । जहाँ कपडामा आइरन लगाउने र सिलाउने काम गरिन्छ । गत फागुन अन्तिम साताको घटना हो, त्यही घुम्टीमा सादा पोशाकमा आएका प्रहरीले छापा मारे । केहीबेर केरकार गरेपछि पसलका संचालक शिवकुमार भंगी (बाल्मिकी) लाई प्रहरीले पक्राउ गरेर लगे ।
बाल्मिकीमाथि लागूऔषधको कारोबार गरेको आरोप लाग्यो । त्यही मुद्दामा प्रहरीले अदालतसम्म पु¥यायो । त्यसपछि बुद्धपथमा रहेको त्यो सानो घुम्टी आठ महिनासम्म खुलेन । कारण बाल्मिकी जेलभित्र न्याय कुरिरहेका थिए । आफू निर्दोष छु भन्ने लाग्दालाग्दै पनि उनी जेलबाट बाहिर आउन सकेनन् । विनाअपराध जेलभित्र थुनिँदा उनी भगवानलाई पुकार्थे । अन्ततः करिब आठ महिनापछि उनलाई जिल्ला अदालत सुर्खेतले निर्दोष ठहर ग¥यो ।
यही कार्तिक १८ गते जिल्ला अदालतका न्यायाधिश प्रल्हादकुमार योगीको इजलाशले बाल्मिकीलाई निर्दोष भन्दै रिहा गर्न आदेश दियो । अदालतको आदेशपछि उनी जेलबाट बाहिर निस्के । ढिलै भए पनि अदालतले त उनलाई न्याय दियो । तर उनीमाथि विनाकारण लागेको अपराधको दाग भने मेटिएको छैन ।
अनुसन्धान र न्याय प्रणालीमा हुने ढिलाईका कारण उनी विनाअपराध आठ महिनासम्म जेलमा थुनिन पुगे ।‘विनाकारण आठ महिनासम्म जेलभित्र थुनिएँ’ बाल्मिकी भन्छन्,‘कसैले लगाएको झुटो आरोपकै भरमा मलाई थुनियो, तर अदालतले मलाई निर्दोष ठहर गरेको छ । जेलबाट बाहिर त आएँ, तर अब मेरो गुमेको त्यो इज्जत कसले फिर्ता गरिदिन्छ ?’
परिवारको खर्च टार्नका लागि उनले वीरेन्द्रनगरमा बसेर शौचालय सफा गर्ने काम पनि गर्दै आएका छन् । परिवारको खर्च जुटाउन दिनरात श्रम गर्ने उनी आफ्नै साढुदाईका कारण फसे । बाल्मिकीले आफ्ना साढुदाई इन्द्रजित भनिने विनोद भंगीलाई घरखर्च चलाउन एकलाख रुपैयाँ सापटी दिएका थिए ।
त्यही रकम माग्दा उनले बाल्मिकीलाई लागूऔषधको कारोबारमा लागेको भन्दै प्रहरीमा नाम पोलिदिए । त्यही आरोपमा उनी अनाहकमा आठ महिनासम्म जेलभित्र बस्न बाध्य भए । न्याय पाएर जेलबाट निस्केपछि हिजोआज उनी आफ्नो लथालिगं भएको व्यवसाय सम्हाल्ने प्रयास गरिरहेका छन् ।
कुनै अपराध गरेका थिएनन् । जो अदालतले प्रमाणित गरिसकेको छ । तर समाजको नजरमा आफूमाथी अपराधी सरह भएकोमा भने दुखी छन् । ‘विनाकारण जेलभित्र कष्टकर बस्नुप¥यो, एकदिन अवश्य छुटेर जान पाउँ भनेर भगवानसँग प्रथना गर्थे’ बाल्मिकी भन्छन्, ‘रिसिबीकै भरमा आरोप लगाएर जेलमा बस्नुपर्दा अहिले समाजमा मुख छोपेर हिड्नुपर्ने अवस्था आयो ।’ गत फागुनमा बाल्मिकीका साढुदाइ इन्द्रजितलाई प्रहरीले झण्डै सात ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो । त्यसपछि इन्द्रजीतले बाल्मिकीको नाम पनि पोलेपछि उनी पक्राउ परेका थिए ।
प्रहरीले अनुसन्धानका लागि भन्दै बाल्मिकीलाई लामो समयसम्म छिन्चुमै राख्यो । ‘हिरासतमै कयौंपटक ब्राउनसुगर कहाँ लुकाएर राखेको छस ? भन्दै प्रहरीले हकार्थे’ बाल्मिकी भन्छन्, ‘प्रहरीले जतिपटक सोधे म त्यो पेशामा नलागेको बताउँथे ।’ इन्द्रजीतलाई दिएको रकम फिर्ता माग्दा आफूलाई फसाएको बाल्मिकीको भनाइ छ । हिरासतमा हुँदा इन्द्रजीतले बाल्मिकीलाई फसाएरै छाडेको भन्दै बदला लिएको बताउँथे ।
बाल्मिकी हिरासतमा हुँदाको क्षण सम्झन्छन्, ‘उसको (इन्द्रजीत) घरखर्च चलाउन दिएको रकमले मलाई कारागार पु¥यायो ।’ निष्पक्ष छानबीन सुरुमै नहुँदा आफूले वीरेन्द्रनगरमा बसेर ३२ वर्षसम्म कमाएकोे इज्जतमा दाग लागेको भन्दै उनले दुखेसो पोखे ।
अनुसन्धानका नाममा निर्दोषहरुले पनि दुख पाउने गरेको भन्दै उनले भने,‘मलाई विनाकारण आठ महिनासम्म थुनियो, मजदुरी गरेर पेट भर्ने मेरो परिवारको विजोग नै भयो । इज्जत गुम्यो, व्यवसाय चौपट भयो । अब यसको क्षतिपूर्ति मलाई कसले दिन्छ ?’ आरोपकै भरमा कसैलाई पनि थुन्न नहुने भन्दै उनले अनुसन्धान र न्याय प्रणाली पनि छिटो तथा छरितो हुनुपर्ने बताउँछन् । उनको एउटै कामना छ,‘अब मजस्ता निर्दोषहरुले अनाहकमा दुख नपाउन् ।’ (युगअाह्वान दैनिकबाट)