सुर्खेत । पश्चिम नेपालको सुर्खेतसहित आसपासका जिल्लामा वर्षा र उच्च हिमाली जिल्लाहरुमा हिमापात भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतकाअनुसार सुर्खेतमा ५० मिलिमिटर वर्षा भएको छ ।
सुर्खेतको इत्राममा ४७, एयरपोर्टमा ५०, जुम्ला तथा मुगुमा २० मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका निमित्त प्रमुख विनोद पराजुलीले जानकारी दिए ।
उनले सुर्खेतमा तापक्रम ९.८ डिग्री सेल्सियसमा रहेपनि कर्णालीका हिमाली जिल्लाहरुमा तापक्रम माइनसमा झरेको जनाए । कालिकोटका उच्च हिमालसहित हुम्ला, मुगु, जुम्ला र डोल्पामा हिमपात जारी छ ।
हुम्ला सदरमुकाम सिमिकाेटमा १.२ फिट हिउँ परेकाे छ भने तापक्रम माइनस १.६ डिग्री सेल्सियस पुगेकाे छ । जुम्लामा शुक्रबार विहान पाँच सेन्टीमिटरसम्म हिउँ परेको छ । अझै हिउँ पर्ने क्रम जारी रहेकाले एक फिटसम्म हिउँ पर्ने आँकलन गरिएको पराजुलीको भनाई छ ।
पश्चिमी वायु सक्रिय रहेकाले भोली छिटपुट वर्षा भएपनि पूर्ण रुपमा मौसम आइतबारदेखी सफा हुने संकेत देखिएको पराजुुलीले बताए । हिमपात र वर्षाले जाडो बढेपनि सिँचाई नपुगेका ठाउँका कृषकहरु बाली सप्रिने भन्दै उत्साहित छन् ।
पछिल्लाे अपडेट साँझ ६:२ बजे