मुगु : जिल्लाको पश्चिम खत्याड गाउँपालिका २ साबिकको सेरी गाउँ विकास समितिमा सिँचाइ कुलो निर्माण हुँदैछ, तर फरक तरिकाले। विगतमा सिँचाइ कुलो निर्माण गर्दा र यो समयमा सिँचाइ कुलो निर्माण गर्दा कामदारले फरक अनुभूति भएको बताएका छन्। केही स्थानीय कामदारले भने, ‘विगतमा पनि सिँचाइ कुलो निर्माण गरेको भए पनि बिनासुरक्षा सामग्री प्रयोगमा काम गर्ने गरेका थियौँ। भीरपाखामा काम गर्दै जाँदा कहाँ के हुने हो डर लाग्थ्यो। तर अहिले त्यस्तो छैन।
सुरक्षा सामग्रीका साथ काम गर्न पाएका छौँ। पैसा पनि कमाउने छौं। ज्यानको पनि सुरक्षा र प्राथमिक उपचारका लागि औषधि पनि साइटमा राखेर काम गरेका छौं।’ केही समस्या भए औषधिको पनि प्रयोग भएको कामदारहरू बताउँछन्। सेरी वडा नं २ भुवनेखोलादेखि नाइढुंगा सम्मको २४ सय ४० मिटर लामो सिँचाइ कुलो निर्माणको काम धमाधम भइरहेको छ। १८ वर्षभन्दा माथिका र ६० वर्षसम्मका ३४५ जना कामदार सिँचाइ कुलो निर्माणको काममा जुटेका छन्।
कुलो निर्माणमा जुटेका महिला-पुरुष सबै कामदारले नीलो हेल्मेट, हातमा पञ्जा, गमबुट लगाएर सबैजना बिहानै काममा जान्छन्। दिनभरि कुलो निर्माणको काममा व्यस्त हुन्छन्। तीमध्ये केहीले सावेल केहीले घनले हानेर पहरा फोडी कुलो निर्माण गर्दछन्। कोही कुलो निर्माणका लागि जाली बुन्दै छन् भने कोही सिमेन्ट बालुवानजिक पुर्याई काम गरिरहेका छन्।
उनीहरूमध्ये खत्याड गाउँपालिका २ का ३५ वर्षीय राजेन्द्र टमटा कुलो निर्माण समितिका अध्यक्ष छन्। टमटाका अनुसार सिँचाइ कुलो निर्माणमा १० वटा समूहले काम गरिरहेका बताए। उनी भन्छन्, ‘महिला-पुरुष सिँचाइ कुलो निर्माणको काममा जुटेका छौँ। रातदिन साबेल, घन उठाएका छौँ। पैसा पनि कमाएका छौं।’ गाउँमै रोजगारी आएपछि किन छोड्ने भनेर कुलो निर्माणको काममा लागेका अध्यक्ष टमटाको भनाइ छ।
महिलाको पनि सक्रियता
‘पहिले-पहिले जुनुसुकै विकासे काम गर्दा पुरुषले मात्र गर्थे। महिलाले सक्दैनन् भन्ने सोचाइ थियो। तर, अहिले यहाँका महिला दैनिक आठघण्टा पुरुषसरह विकासे काममा पुरुषसँगै खटिरहेका छन्। पुरुषसरह ढुंगाा फोड्ने, वाल लगाउने काममा महिला खटिरहेका छन्’ खत्याड गाउँपालिका २ की हिरा कामीले भनिन्।
काममा खटिएका महिलाले पुरुषसरह नै ज्याला पाउँदै आएको जौमती बताउँछिन्। परिवार पाल्नकै लागि भारत मजदुरी गर्न जाने युवा सिँचाइ कुलो निर्माणको काम सुरु भएपछि गाउँमै अडिएका छन्। महिलाले पनि रोजगारी पाएका छन्। यसले गाउँको बेरोजगार समस्या समाधान मात्र होइन। खाद्य सुरक्षामा सहजता, परिवारसँगै रहने वातावरण पनि सिर्जना गरेको छ।
कुलो निर्माणको उद्देश्य
बढ्दो जलवायु परिवर्तनलाई अनुकूलनमा ल्याउन र खाद्य सुरक्षाको प्रत्याभूति गराउन खत्याड गाउँपालिको सेरीमा सिँचाइ कुलो निर्माण गरिएको हो। नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र याडप्टेसन फन्डको आर्थिक सहयोग, डव्लुएफपीको प्राविधिक सहयोग र ग्रामीण सामुदायिक विकास केन्द्र मुगुद्वारा सञ्चालित सिएएफएस कर्णाली परियोजनाअन्तर्गत बढदो जलवायु परिवर्तनलाई अनुकूलनमा ल्याउने यसको प्रमुख उद्देश्य रहेको छ।
खाद्य सुरक्षाको प्रत्याभूति गराउन खत्याड गाउँपालिकाको साबिकको सेरी गाविसमा सिँचाइ कुलो निर्माण कार्य सञ्चालन गरिएको सिएएफएस कर्णाली परियोजनाका सवइन्जिनियर ककेश शाहीले बताए। उनकाअनुसार यस क्षेत्रमा सिँचाइ कुलो नहुँदा किसानको उत्पादन कम हुने र खाद्यको समस्या हुने भएकाले सिँचाइ कुलो निर्माण थालनी गरिएको बताए। कुलो निर्माण हुँदै गर्दा स्थानीयले पैसा पनि कमाउने र खेतमा सिँचाइ गरी उत्पादनमा सहज हुने र खाद्य सुरक्षाको सहज हुने भएकाले सिएएफएस कर्णाली परियोजनाले सिँचाइ कुलो निर्माणमा जोड दिएको सब इन्जिनिएर शाहीको भनाइ छ।
जलवायु परिवर्तनलाई अनुकूलनमा ल्याउन र खाद्य सुरक्षाको प्रत्याभूति गराउन आरसिडी मुगुले जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएको छ। खत्याड गाउँपालिकामा सामूहिक तरकारी खेती आर्यआजनसम्बन्धी सीपमूलक तालिम लगायतका कार्यक्रम गर्दै आएको आरसिडी मुगका उद्यम विकास अधिकृत जगतबहादुर भारले बताए।
कामदारको व्यत्तिगत खातामा
पैसा भुवने खोलादेखि नाइढुंगासम्मको सिँचाइ कुलो निर्माणमा काम गर्दै आएका कामदारको रकमको व्यत्तिगत खातामा पैसा जम्मा गर्ने गरिएको छ। सिँचाइ कुलो निर्माणमा जुटेका साबिकका सेरी गाविसका ३४५ जनै महिला-पुरुष कामदारको बैंक खाता खोलिएका छन्। ज्याला जिल्ला दर रेटअनुसार कामदारको कामको मूल्यांकनका आधारमा सिधै पैसा बैंक खातामा जम्मा गर्ने गरिएको छ।
सुशासनको प्रत्याभूति गराउन र मनोबल उच्च बनाउन रकमको सही सदुपयोगका लागि कामदारको व्यत्तिगत बैंक खातामा पैसा जम्मा गरिँदै आएका आरसिडी मुगुले जनाएको छ।
sourc: thahakhabar.com