☰ open Loading... 15 November 2024|  

सस्तियो अमेरिकी डलर, ऋणको भार पनि कम हुने
  | २९ मंसिर २०७६, आईतवार १२:३७

अमेरिकी डलरको भाउ सस्तिएको छ। एक महिनाअघि डलरको भाउ निरन्तर उकालो लागेर एक डलर खरिद मूल्य ११६ रुपैयाँ पैसासम्म लाग्ने गरेको थियो । तर, अहिले घटेर ११३ रुपैयाँ ६० पैसामा आएको छ।

डलरको भाउमा एक महिनाकोबीचमा करिव २ रुपैयाँ ५० पैसासम्म घटेको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आज (आइतबार) का लागि एक डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ।

यसको अर्थ एक महिनाअघि सर्वसाधारणले एक डलर खरिद गर्न ११६ रुपैयाँ तिर्नु पर्ने थियो। तर, आज एक महिना पहिलेको भन्दा करिव साढे २ रुपैयाँ कम अर्थात ११३ रुपैयाँ ६० पैसा तिरे हुने भएको छ।

डलर कमजोर बन्दै गएको छ भने नेपाली रुपैयाँ केही बलियो देखिएको छ।

नेपाली रुपैयाँ बलियो हुनुको कारण भारतीय रुपैयाँ कमजोर नहुुनु हो।

नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु बलियो हुनासाथ नेपाली रुपैयाँ पनि बलियो र कमजोर हुँदा कमजोर हुने गरेको छ ।

नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो ंहुने गर्छ । डलर कमजोर भएका कारण उपभोक्ताले विदेशी सामान किन्दा सस्तो मूल्यमा किन्न पाउँछन्।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार, अन्तर्राष्ट्रिय बजारका कारण डलर कमजोर र बलियो हुने गर्दछ।

भारतको मुद्रा केही बलियो बनेकाले डलरको भाउ कमजोर भएको हो।

भारतीय मुद्रा बलियो हुनुलाई भारतको अर्थतन्त्र बलियो हुँदै गएको संकेतका रुपमा लिन सकिने विज्ञ बताउँछन्। २०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न एक सय १९ रुपैयाँसम्म तिर्नुपरेको थियो।

त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको थियो। तर, पछिल्लो समय पुन भारतको अर्थतन्त्र बलियो हुन थाल्दा डलर कमजोर हुन पुगेको हो।

यस सम्बन्धमा एक विज्ञले भने, ‘डलर कमजोर हुँदा नेपाली रुपैयाँ बलियो हुन्छ र यसले नेपाललाई फाइदा हुन्छ।’

नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा बलियो बन्दा नेपालमा डलरको भाउ घटेको को हो। अमेरिकी अर्थतन्त्र कमजोर हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ बलियो बनेको विज्ञको भनाइ छ। डलरको भाउ घटदा तेस्रो मुलुक (भारतबाहेक) बाट आयात हुने सामानको मूल्य पनि घटने नेपाल राष्ट्र बैंकको भनाइ छ।

डलर बलियो हुँदा भने पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स पाउनेलाई फाइदा हुने गर्छ। डलरको भाउ कमजोर हुँदा विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउँदा कम रकम र डलर बलियो हुँदा बढी रकम पाउँछन्।

डलर कमजोर भएका कारण रेमिट्यान्स पठाउने नेपालीलाई भने बेफाइदा हुन्छ। डलर कमजोर हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि कम तिर्नु पर्ने हुन्छ।

अहिले प्रतिव्यक्ति साढे ३६ हजार रुपैयाँ प्रति बक्ति ऋणभार परेको छ। डलरको भाउ अझै घट्ने हो भने ऋणको भार कम हुँदै जाने छ।