☰ open Loading... 26 February 2025|  

चालक नियुक्ति विवादले सेवाग्राही मर्कामा
  | १ पुष २०७६, मंगलवार १४:३७

दैलेख : जिल्लाको भैरवी गाउँपालिका–३ का तपेन्द्रबहादुर थापाकी पत्नीलाई गत साता सुत्केरी व्यथाले च्यापेपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लानुपर्ने भयो। एम्बुलेन्सको खोजखबर गर्दै समयमै सुत्केरीको उद्धार हुन नसक्दा सुत्केरी आमाको ज्यान जोगिए पनि नवजात शिशुको भने मृत्यु भयो।

सुत्केरी तथा आकस्मिक बिरामीको उद्धारका लागि गाउँपालिकाले एम्बुलेन्स किनेको छ। चालक नियुक्तिमा राजनीतिक विवाद भएपपछि एम्बुलेन्स थन्किँदा सयौं स्थानीय सेवाबाट वञ्चित छन्। स्थानीय जग्यबहादुर शाहीका अनुसार गाउँपालिकाले चालक नियुक्ति गर्न नसक्दा लाखांै रकम खर्चेर किनेको एम्बुलेन्स ६ महिनायता थन्किएको हो।

गाउँमै एम्बुलेन्स आएपछि समयमै उद्धार नभएर अकालमै बिरामीले ज्यान गुमाउनुपर्ने समस्या हट्ने स्थानीयको अपेक्षा थियो। तर चालक नियुक्तिमा राजनीतिक विवाद भएपछि नागरिकले सेवा पाउन सकेका छैनन्। कार्यपालिका सदस्य सीता विकका अनुसार गाउँपालिका अध्यक्षले आफू निकट पार्टीको सदस्यलाई एम्बुलेन्स चालक बनाउन खोज्दा विवाद भएको थियो। ‘राजनीतिक विवादले हालसम्म चालक नियुक्ति हुन सकेको छैन’, उनले भनिन्, ‘चालक नियुक्तिमा कांग्रेस र नेकपा निकट निर्वाचित जनप्रतिनिधिको खिचातानी छ।’

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले कार्यपालिका बैठकबाट सहमति गरेर चाँडै चालक नियुक्ति गरिने बताए। ‘विज्ञापन गरेर चालक नियुक्ति गरांै भन्दा कार्यपालिका सदस्यहरूले मान्नुभएन। त्यसैले चालक नियुक्ति अन्योल छ’, उनले भने।

हाल गाउँपालिकाको सिलंगी बजारको खुला स्थानमा एम्बुलेन्स राखिएको छ। एम्बुलेन्स गाउँपालिकाले गत चैतमा किनेको हो। गाउँपालिकाका सबै वडामा सडक सञ्जाल जोडिएको छ। तर चालक नियुक्ति विवादले नागरिकले सहज रुपमा एम्बुलेन्स सेवा प्रयोग गर्न पाएका छैनन्।