बच्चाको भविष्यप्रति हरेक अभिभावक चिन्तित र संवेदनशील हुन्छन्। तर, बच्चाको मनोविज्ञानअनुसार व्यवहार गर्न नजान्दा वा बेवास्ता गर्दा बच्चाहरु बिग्रँदै गएको अभिभावकलाई पत्तै हुँदैन। जब बच्चा ठूलो हुन्छ, बिग्रेपछि अभिभावकका लागि सुधार्ने चुनौति पनि असम्भव बन्दै जान्छ।
बच्चाहरूलाई अनुशासन र स्वतन्त्रताको सही अर्थ के हो भनेर सिकाउन अति नै जरूरी छ। उनीहरूलाइ हुर्काउने र बढाउने क्रममा उनीहरूप्रति गरिने व्यवहारमा सन्तुलन मिलाउन सकिएन भने बच्चाहरू बिग्रिन सक्छन्। त्यसैले उनीहरूलाई बिग्रिन नदिनका लागि हामीले पहिले नै उनीहरूलाई सही के हो र गलत के हो भनेर सिकाउनु अति नै जरूरी छ। बच्चाहरू के के कारणले बिग्रन्छन् ? जान्नुस् १३ कारण।
(१) तपाईंले बच्चालाई हरेक वस्तुको मोल हुन्छ भनेर सिकाउनु भयो भने ऊ आफ्नो इमानलाई पनि बिक्रीमा राखिदिन्छ। त्यसैले हामीले बच्चालाई जुन कुरा उनीहरूलाई सिक्नुपर्ने छ, त्यति मात्र सिकाउनु पर्दछ। उनीहरूका लागि आवश्यक परेको कुरा मात्र सिकाउनु पर्दछ। जब बुझ्ने हुन्छन्, तब अरु कुरा उनीहरु आफै सिक्दै जान्छन्।
(२) प्रत्येक अभिभावकले बच्चालाई आदर्श र नैतिकताको मूल्य हुन्छ भन्ने सिकाउनुपर्छ। फाइदाका लागि मात्र दौडने कुरा सिकाउँदा तत्काल त लाभ मिल्छ। तर, भविष्यको गन्तव्य अनिश्चयको भूमरिमा धकेलिन्छ। बच्चालाई अडान नलिन सिकाउनुभयो भने ऊ हरेक व्यवहारमा चिप्लिएर हिडिदिन्छ।
(३) बच्चालाई जित्नु नै सबथोक हो भनेर सिकाउनु भयो भने ऊ गर्न हुने÷नहुने जे गरेर भए पनि जित्ने कोसिसमा लागिरहन्छ । जुन कुराले पनि जिद्दी गर्ने बानी बस्छ। त्यसैले कस्तो कुरामा जित्नुपर्छ, कस्तो कुरामा जित्नु हुन्न भनेर सिकाउँदा मात्र उसले के सही हो, के गलत हो भन्ने बुझ्छ र उसमा गर्न हुने कुरामा मात्र जित्नुपर्छ भन्ने बानीको विकास हुन्छ। उसले त्यही काम मात्र गर्दछ, जुन राम्रो हो भन्ने बुझ्दछ।
(४) बच्चाले फोहोर बोली÷शब्द निकाल्दा हाँस्नुभयो भने, उ छाडा भइदिन्छ। त्यस्तो बोल्न हुँदैन भनेर सम्झाउनु भयो भने मात्र उसलाई यो नराम्रो कुरा रहेछ भन्ने थाहा हुन्छ र त्यस्तो शब्द अर्कोपटक बोल्दैन। तर, तपाईले हाँसीदिनु भयो भने, केही भन्नु भएन भने, यो त राम्रो कुरा रहेछ भनेर पटकपटक ऊ त्यस्तो शब्द बोल्न थाल्छ।
(५) बच्चाहरूका अगाडि नराम्रा कुराहरू बोल्ने गर्नाले त्यसबाट बच्चाहरुले सिक्छन्। ठूला मान्छेले नै केटाकेटीका लागि नराम्रा कुरा बोल्ने गर्दा उनीहरूले पनि त्यही सिक्ने गर्दछन्। बच्चालाई ठूलो मान्छेले जे गर्यो, जे सिकायो त्यही नै उनीहरूले सिक्ने भएकाले उनीहरूको अगाडि सधै राम्रो कुरा मात्र बोल्ने गर्नु पर्दछ।
(६) बच्चाहरूले जथाभावी मिल्काएका सामानहरू मिलाइदिने गर्नुभयो भने, उसका हरेक काम आफै गरिदिन थाल्नुभयो भने उ हरेक जिम्मेवारीबाट पन्छिन सिक्छ। त्यसैले बच्चालाई आफै काम गर्न सिकाउनु पर्दछ। त्यसो गर्यो भने सानैदेखि उसमा आफ्नो काम आफै गर्ने बानीको विकास हुन्छ र पछिसम्म उसमा त्यही बानी बस्छ।
(७) बच्चाले पढ्न, सुन्न र हेर्न चाहेको कुराको मूल्याङ्कन गर्नु भएन भने गलत माध्यमको असरले उसको मानसिकता फोहोरी बन्न सक्छ। त्यसैले बच्चाले पढ्न, सुन्न र हेर्न चाहेको हरेक कुराको मूल्याङ्कन गर्ने बानी गर्नुहोस्। यसो गर्नाले बच्चाको मानसिकता राम्रो बन्दछ। उसलाई राम्रो कुरा मात्र पढ्न, सुन्न र हेर्न अभिप्रेरित गर्नुस्।
(८) बच्चालाई साथीहरूका अगाडि ठूलो देखाउनका लागि उसले खोजेका सबै कुराहरू पुर्याइदिनुभयो भने उसलाई स्वच्छन्द बनेर हिड्न सजिलो हुन्छ। त्यसैले बच्चालाई आवश्यक परेका कुराहरू मात्र दिने गर्नुस्। उसलाई माग्नेबित्तिकै सबैथोक पाइहालिन्छ भन्ने सोचको विकास हुन नदिनुस्।
(९) बच्चाहरूको अगाडि झगडा गर्ने गर्नुभयो भने ऊ आफ्नो घर तहसनहस बने पनि सहन सक्ने र घरसँग सम्बन्ध नराख्ने बन्छ। बच्चाहरूका अगाडि कहिले पनि झगडा गर्ने, फोहोरी कुराहरू गर्ने गर्नु हुँदैन। बच्चाहरूको अगाडि सधैं राम्रो कुरा मात्र बोल्ने गर्नुपर्दछ। यसो गर्नाले उनीहरूमा राम्रो बानीको मात्र विकास हुन्छ।
(१०) बच्चाले मागे जति पैसा दिनुभयो भने तपाई आफूले झेलेको कष्ट उसले भोग्न नपरोस् भन्ने कुरा मात्र ध्यानमा राख्नुभयो भने ऊ भुइँ न भाँडोमै हुन्छ। बच्चालाई धेरै पैसा दिने बानी गर्नु हुँदैन। उसलाई आवश्यक परे जति मात्र दिने गर्नुपर्दछ र फारोतिनो गर्ने बानी सिकाउनुपर्छ।
(११) बच्चाको हरेक आवश्यकता छिटो पुर्याइदिने गर्नुभयो भने जीवनमा अगाडिका दिनहरूमा आफूले भनेको कुरा नभएमा उ डिप्रेशनमा जान सक्छ। त्यसैले कति बेला आवश्यक परेको छ, त्यति बेला मात्र त्यो आवश्यकता पूरा गर्दिने गर्नुहोस्। कहिलेकाँही बच्चाले मागेको समयमा नदिएर अरु समयमा किन्दिनुस् ताकि बच्चामा शर्त राख्ने बानी नबसोस्।
(१२) बच्चालाई अनुशासन र स्वतन्त्रताको सही अर्थ बुझाउन सक्नुभएन भने तपाईको बच्चा जे नबनोस् भन्ने चाहनुहुन्थ्यो, बच्चा अब त्यही बनिदिन्छ। त्यसैले बच्चालाई सधै अनुशासनमा बस्न सिकाउनु पर्दछ। राम्रा राम्रा कुराहरू मात्र सिकाउनुपर्दछ।
(१३) बच्चालाई मानवीय भावना र गुण सिकाउनुस्। अरुका लागि दिने र बाँडेर खाने बानी सिकाउनुस्, आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्ने बानी बसाल्नुस्। कुनै पनि व्यक्तिलाई वर्ग, वर्ग, जात वा पेशाका आधारमा भेदभाव गर्ने संस्कारबाट टाढा राख्नुस् ताकि भविष्यमा बच्चा कसैप्रति पीडक सोंच नराखोस्।
बच्चाका लागि विज्ञका केही टिप्स्
(१) बच्चालाई सेयरिङ–केयरिङ सिकाउनुस् – जब एक मात्र बच्चा हुन्छ, घरका सबै सदस्य उसको अघिपछि घुम्छन्। यस्तोमा बच्चालाई खेल–खेलमा सेयरिङ र केयरिङ सिकाउनु आवश्यक छ। बच्चालाई हजुरबा, हजुरआमा तथा ठूलाबडाको आदर र सेवा गर्न, आफ्ना चीजवस्तु उनीहरुसँग बाँड्न सिकाउनुपर्छ। उसका खेलौनाहरु साथीलाई दिन लगाउनुस्। यसले बच्चामा सेयरिङको आदत बस्छ, र ऊ कन्जुस् या एकलकाटे हुँदैन।
(२) पर्याप्त समय दिनुहोस् – बच्चालाई महङ्गा खेलौना, मोबाइल, गेम, अन्य सुविधाले मात्र पुग्दैन, तपाईंको समय पनि चाहिन्छ। बाबुआमा दुवै काम गर्नुहुन्छ भने तपाईंसँग समयको कमी त हुन्छ नै। तैपनि, तपाईंको बच्चालाई सकेसम्म धेरै समय छुट्याउने कोसिस गर्नुस्। ऊसँग खेल्नुस्, ऊसँगै उसका किताब, खेलौनालगायत सरसामान सफा गर्नुस्, किचनमा ऊसँग सानोतिनो सहयोग लिनुुस्। सुत्ने बेला उसलाई मीठा कथा सुनाउनुस्। बच्चालाई घरबाहिर खेल्न पठाउनुस्, ताकि उसको सामाजिक दायरा फराकिलो होस्। साथै, ऊ आफ्ना कुरा अरुसँग सेयर गर्न सकोस्।
(३) हरेक माग पूरा नगर्नुस् – एक्लो बच्चामाथि बाबुआमाको ज्यादा नै लगाव हुन्छ। जिद्दी र चकचके बच्चा सबैलाई मन पर्छ। तर, अलिकति पनि लगाम नलगाउने हो भने उसको यो बानी अराजक बन्न समय लाग्दैन। यसैले बच्चाको हर डिमाण्ड पूरा नगर्नुस्। उसलाई पैसाको मूल्य सम्झाउनुस्, जे छ त्यसैमा एडजस्ट गर्न सिकाउनुस्।
(४) साथी बनेर रहनुस् – एक्लो बच्चासँग तपाईं आफैँ साथी बनेर बस्नुपर्छ। बढ्दो उमेरको बच्चासँग साथीजस्तै व्यवहार गर्ने कोसिस गर्नुहोस्। ऊसँग खेल्नुस्। बच्चालाई स्पोट्र्स, फिजिकल एक्टिभिटी र योगमा सामेल गराउनुुस्, ताकि उसको राम्रो मानसिक विकास होस्, आत्मविश्वास बढोस्।
(५) जिम्मेवार बनाउनुस् – एक्लो बच्चालाई मायाका साथ जिम्मेवारीको बोध पनि गराउनुपर्छ। उसलाई जीवनको वास्तविकताबारे बताउनुपर्छ। बच्चालाई स–साना जिम्मेवारी दिइराख्नुस् र केही कठिन परिस्थितिमा उसको राय पनि लिनुहोस्। उसलाई लागोस् कि तपाईंका लागि ऊ महत्वपूर्ण छ, परिवारमा उसको पनि जिम्मेवारी छ। यसले उसमा आत्मविश्वास पनि बढाउँछ।
(६) सम्वेदना जगाउनुस् – बच्चासँग सम्वाद गरिरहनुपर्छ। स्वस्थ छलफल गरेर उसलाई सम्वेदनशील बनाउन सकिन्छ। उसका भावनालाई चिनेर त्यसअनुसार प्रतिक्रिया दिनुहोस्। उसलाई खुलेर आफ्ना कुरा राख्ने मौका दिनुस् र उसका कुरा ध्यानपूर्वक सुन्नुस्, ताकि बच्चाको मनमा कुनै कुरा नदबोस्।