सुर्खेत । चिसोले कर्णालीको जनजीवन कष्टकर बनेको छ । मंगलबारदेखि ह्वात्तै बढेको चिसोका कारण कर्णाली प्रदेशका सबै जिल्लाको जनजीवन प्रभावीत भएको हो । चिसोले यहाँका स्थानीयलाई घरबाहिरको काम गर्न समेत सकस भएको छ ।
चिसो बढेपछि विहिबार बिहानदेखि कर्णाली प्रदेशको हुम्ला, मुगु, जुम्ला र डोल्पाको उच्च भुमागमा हिमपात सुरु भएको छ । भने कालिकोट, दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा सामान्य बर्षा हुने क्रम जारी छ । हुम्लामा विहिबार विहानदेखि सुरु भएको हिमपातसँगै चिसो बढेपछि त्यहाँका स्थानीयलाई घर बाहिर निस्कन मुस्किल परेको हो ।
चिसोले बालबालिका, बृद्धबृद्धा र काममा निस्कने व्यक्ति बढि प्रभावीत भएका छन् । जुम्लामा भेडाबाख्रा सहित अन्य पशुवस्तुलाई समेत चिसोको संक्रमणले सताएको तातोपानी गाउँपालिकावासी मुनबहादुर कामीले बताए । हुम्लामा चिसोका कारण रुघाखोकीको संक्रमण बढ्दै गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् ।
चिसोका कारण जुम्लाको तापक्रम माइनस २ दशमलब ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । वीरेन्द्रनगरको न्युनतम तापक्रम १० दशमलब १५ डिग्री सेल्सियस पुगेको जल तथा मौषम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनाेद पराजुलीले बताए ।
मौसमी पुर्वसुचना दिन सुर्खेतको रातानाङ्ला डाडाँमामा स्थापना भएको नेपालकै पहिलो मौसमी राडारकानुसार शनिबारसम्म लगातार कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात र वेशीमा बर्षाको सम्भावना रहेको पराजुलीले बताए ।
उनकानुसार कर्णाली प्रदेशसँगै सुदुपश्चिमको बाजुराको लेक क्षेत्रमा पनि हिमपात भईरहेको छ । कैलालीसहितका तराँइका जिल्लामा बर्षा हुने सम्भावना छ । चिसो बढेसँगै हिमपात, बर्षा, हुस्सु र तिब्र हावाको बेगका कारण कर्णालीमा हवाई उडान समेत हुन सकेको छैन ।