☰ open Loading... 26 February 2025|  

विराज बाघ कि मुसा ?
  | २६ पुष २०७६, शनिबार १२:१४

उपाधि, पदवी, सम्मान दिनमा हामी नेपाली सिपालु छौँ। मान्छेले उपाधि पाउने काम गरोस्, नगरोस्, हामीलाई उसलाई महान् देखाउने हतार हुन्छ। फिल्मको हकमा चाहिँ यो काम अवार्ड समारोहमा हुन्छ वा फिल्मको गीत या ट्रेलर सार्वजनिक कार्यक्रममा।

जस्तो कि, ‘क्याप्टेन’ ट्रेलर सार्वजनिक समारोहमा उद्घोषकले अनमोल केसीलाई स्टेजमा बोलाउने क्रममा मेगास्टार भनिदिए। कार्यक्रम सकिएपछि अनमोल मेगास्टार हुन् कि हैनन् भन्ने चर्चा चल्यो। रेखा थापाले अनमोल मेगास्टार हुने बेला नभएको प्रतिक्रिया दिइन्। भुवन केसी रिसाएर एउटा कार्यक्रममा रेखासँग बोलेनन्।

विराज भट्टलाई पनि एक जना उद्घोषकले यही साता बाघ हिरो भनेर तारिफ गरे। सन्दर्भ थियो, उनको नयाँ फिल्म ‘साङ्लो’को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम। विराज पनि आफूले पाएको नयाँ सम्बोधनका लागि दंगै थिए। उनले पनि बाघको चर्चामा सामेल हुँदै बाघ अरूतिर शिकार गरेर अहिले घर फर्किएको आशयमा गफ दिए।

भोजपुरी फिल्ममा व्यस्त विराजले दुई तीन वर्षअघि ‘जय परशुराम’मार्फत नेपाली फिल्ममा कमब्याक गरेका थिए। तर, त्यो फिल्म फिटिक्कै चलेको थिएन। अब यो फिल्म पनि चलेन भने विराज बाघ हैन, मुसा ठहरिनेछन्। गफ दिने बेलामा यसो इतिहास पनि सम्झने गरे हानि नहुँदो हो!