☰ open Loading... 16 November 2024|  

कर्णाली सरकारले ठानेका मुख्य उपलब्धि
  | ३ फाल्गुन २०७६, शनिबार १७:३७

सुशील खड्का
सुर्खेत ।
 सरकारको आलोचना भइरहँदा प्रदेश सरकारले भने दुई वर्षको अवधिका उल्लेखनीय काम गरेको दाबी गरेको छ । सरकारले कर्णाली प्रदेशको पञ्चवर्षिय आधारशिला तयार गर्न सक्नु, कर्णालीका जनताको विपद् बीमा कार्यक्रम, ‘बैक खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रम, कर्णालीमा आउने कर्मचारीलाई विशेष भक्ता दिने व्यवस्था, प्रदेश समन्वय परिषदको बैठक बसाल्नु, कर्णाली प्रर्यटन बोर्ड गठन, विभिन्न पर्यटकीय स्थलहरुको संरक्षण तथा विस्तार, सबै जिल्लामा मन्त्रालयका कार्यालयहरु राख्नु, कर्मचारीको संगठन व्यवस्थापन, करारमा कर्मचारीको पदपूर्तिलाई महत्वपूर्ण उपलब्धि मानेको छ ।

यस्तै पत्रकारहरुको बीमा कार्यक्रम, प्रदेशमा मानवमुक्त सडक निर्माण अभियानको थालनी, प्रदेशको नामाकरण, राजधानी तोक्ने, कर्णाली पर्यटन वर्ष, कर्णाली योजना आयोगको गठन, राहत तथा उद्धारका कार्य, कानुन निर्माणलाई सरकारले उपलब्धी ठानेको छ ।

सुर्खेत–काठमाण्डौँलाई सिधा हवाइ सेवा, जनताको गुनासो सुन्न ‘हाम्का कुडा हाम्मा मुख्य मुख्यमन्त्री कार्यक्रम’, कर्णालीमा लगानीकर्ताको ध्यानाकर्षण, अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता र अन्य विमानस्थलको स्तरोन्नतीका लागि थालिएको पहललाईसमेत सरकारले सफलता मानेको छ ।

त्यस्तै डोल्पा र हुम्लाका ज्येष्ठ नागरिक, फरक क्षमताका नागरिकलाई हवाई भाडामा सहुलियत, प्रदेशका दशै जिल्लाका लागि दश वटा एम्बुलेन्स उपलब्ध गराउनु लगायतका कामहरु जनताकै पक्षमा रहेको सरकारको बुझाइ छ ।

राम्रा कार्यक्रमलाई निरन्तरता दिएर समयमै बजेट खर्च गर्न सक्ने गरी कार्ययोजना बनाउन प्रदेश प्रमुखको आग्रह

यसैविच, प्रदेश सरकारले अघि सारेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आग्रह गरेका छन् । प्रदेश सरकारको दोस्रो वार्षिकोत्सवका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले राम्रा कार्यक्रमलाई निरन्तरता दिएर समयमै बजेट खर्च गर्न सक्ने गरी कार्ययोजना बनाउन आग्रह गरेका हुन् ।

उनले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सबैको सुझाव लिन सके कार्यान्वयनमा सजिलो हुने बताए । प्रदेश प्रमुख कलौनीले प्रदेश संरचना नौलो भएकाले साधन स्रोत, भौतिक पूर्वाधार र आवश्यक कानून अभावका कारण केही बिलम्ब हुनु स्वभाविक भएको उनले उल्लेख गरे ।

‘आफ्नो जग आफै खडा गर्दै अघि बढ्नुपरेको छ, यस्तो अवस्थामा सोचेजस्तो काम गर्न सकिँदैन्,’ उनले भने, ‘प्रदेश सरकारले जिल्ला–जिल्लामा आफ्ना संरचनाहरु स्थापना गरेर जनताको अपेक्षाप्रति गाम्र्भियता देखाएको छ, जुन प्रशंसनीय छ ।’

समयमै बजेट खर्च गरेर आफ्नो वार्षिक लक्ष्य हासिल गर्न सरकारलाई सुझाव दिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले ‘समृद्ध कर्णाली ः सुखारी कर्णालीबासी’ बनाउने दीर्घकालिन सोचलाई सार्थक तुल्याउन सामाजिक सुरक्षा, पूर्वाधार विकास र सुशासनका आधारहरु निर्माण गरेको जानकारी दिए ।

उनले कर्णालीको विकास मोडल अन्य प्रदेशभन्दा फरक हुन आवश्यक रहेको भन्दै विज्ञ समूह लगायतका सरोकारवालाको सुुझावका आधारमा योजना निर्माण तथा कार्यान्वयन भइरहेको बताए ।

‘कर्णालीको विकास प्रदेश सरकारको लगानीबाट मात्र सम्भव छैन्, यसका लागि निजी लगानीकर्ता एवं विकास साझेदारहरुको लगानी भित्र्याउन चाहान्छौं,’ उनले भने, ‘ठूला आयोजनाहरुको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि विदेशी निर्माण कम्पनीहरुलाई नेपाल सरकारमार्फत अनुरोध गरेका छौं ।’

प्रदेश सरकारले दुई वर्षको अवधिमा कानूनी, सांगठनिक संरचना निर्माण एवं जनशक्ति व्यवस्थापन गरिसकेकाले बाँकी तीन वर्ष पूर्वाधार निर्माणमा केन्द्रीत हुने मुख्यमन्त्री शाहीको भनाई छ । २०७४ फागुन ३ गते नियुक्त हुनुभएका मुख्यमन्त्री शाहीले फागुन ६ गते मन्त्रिमण्डल गठन गरेका थिए ।

समारोहमा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले प्रदेश सरकारले सङ्घीय व्यवस्थाको जग हाल्ने काम गरेको बताए । उनले सरकारलाई आवश्यक पर्ने कानून निर्माण गर्ने, सरकारका कामको निगरानी गरेर एवं सल्लाह–सुझाव दिएर सरकारलाई प्रदेशसभाले सहयोग गर्दै आएको बताए ।

कर्णाली प्रदेशसभामा विपक्षी दलका नेता जीवनबहादुर शाहीले चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा ७.४६ प्रतिशत मात्र बजेट खर्च भएको भन्दै कर्मचारी हुँदाहुँदै काम गर्न किन नसकेको ? भनी प्रश्न गरे ।

प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।