दैलेख, योजना दिगोपनका लागि नेपाल सरकारसंगको समन्वयमा ग्रामिण जलश्रोत ब्यवस्थापन परियोजना तेस्रो चरण लागु भएका गाउँपालिकाका स्थानीयहरु ‘मर्मत सम्भार कार्यकर्ता’ तालिम दिईएको छ । खानेपानी योजना चलिरहेका गाउँपालिकाका स्थानीयहरुलाई १० दिने ग्रामीण मर्मत सम्भार कार्यकर्ता तालिम दिईएको हो । उनीहरु तालिमपछि गाउँ पुगेर योजनाहरु दिगो राख्न खटिनेछन् । त्यस वापत कार्यकर्तालाई योजना समितिले तोके अनुसार पारिश्रमिक दिने छ ।
जिल्लाका नौमुले, भैरवी, गुरासँ, भगवतीमाई, ठाटीकाँध गाउँपालिकाबाट आएका ३० जनालाई नौमुले गाउँपालिकामा तालिम दिएको हो । उनीहरुले तालिमपछि गाउँमा रहेका योजना मर्मतसम्भार तथा योजना दिगो राख्न खटिनेछन् । खानेपानीका योजनाहरुमा पाईप काटिने, पहिरो जाने अन्य कारण पानी रोकिने लगायतका समस्याहरु उनीहरुले सहज हटाउने छन् । जसले योजना दिगोपनमा सहयोग हुने विस्वास गरिएको छ । विशेषगरि खानेपानीका क्षेत्रमा लामो समयदेखी काम गरेका प्रशिक्षकहरुले तालिम दिएका थिए । तालिमसंगै उनीहरुले गाउँमा रोजगारी समेत पाउनेछन् । योजना दिगोपन राख्न मर्मत सम्भार कार्यकर्ताको महत्वपूर्ण भुमिका हुने परियोजनाका जिल्ला संयोजक लक्ष्मी चन्द्र महतले बताए ।
नेपाल सरकारले भनेअनुसार सुरक्षित पयाप्त पानी मर्मत सम्भार कार्यकर्ताले खुवाउने नौमुले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद कोईरालाले बताए । आफुले पनि यसको सिकाई गरि गाउँपालिकाको अन्य विकास योजनामा पनि मर्मत सम्भार कार्यकर्ताहरु उत्पादन गरि काम गर्ने कोईरालाले बताए । संचालनमा आएको योजना कम्तिमा २० वर्ष टिकाउ हुनुपर्ने लक्ष्यअनुसार मर्मत सम्भार कार्यकर्ता सहयोगी हुने परियोजनाका संयोजक महतले बताए । गाउँपालिकासंग निश्चित बजेट भएका बेला जनतालाई आधारमुत शुद्ध खानेपानी पुराउन गाउँपालिकासंग साँझेदारीमा प्रभावकारी काम भईरहेको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए ।
जनतालाई सुरक्षित पानी खुवाउन आफुहरु पहरेदार भएर लाग्ने मर्मत सम्भार कार्यकर्ता भैरवी गाउँपालिका ५ का शान्तिप्रसाद शर्माले तालिम समापनमा बताए । शर्माले आफुहरु गाउँ फर्केपछि रोजगारीको अवसर पनि पाईने र गाउँ समाजमा खानेपानी खुवाउन लागि पर्ने बताए । दैलेखका विकट बस्तीहरुमा सामुहिक तथा निजि धारा मार्फत परिक्षण गरेर शुद्ध खानेपानी सुविधा दिन लामो समयदेखी परियोजनाले काम गरिरहेको छ । गाउँपालिकामै बजेट पठाएर योजनाहरुमा भुक्तानी हुने गर्दछ जसले गर्दा परियोजना स्थानीय सरकार मार्फत चलिरहेको छ । योजना हेर्न प्राविधिक टोली गाउँपालिकासंग सहकार्य गरेर काम गर्न परियोजनाले पालिकामै बस्ने गरि ब्यवस्थापन गरेको छ ।