☰ open Loading... 15 November 2024|  

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा न्यूरो सर्जरी सेवा सुरु
  | १६ फाल्गुन २०७६, शुक्रबार १८:२५

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा न्युरो सर्जरी (नशा रोग) शल्यक्रिया सेवा सुरु गरिएको छ । प्रतिष्ठानमा न्यूरो सर्जन डा. निलम खड्का गएसंगै नशा सम्बन्धी शल्यक्रिया सेवा सुरु गरिएको हो ।

यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एसोसिएट प्रोफेसर रहेका डा. खड्का आजदेखी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएसँगै सेवा सुरु गरिएको अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए ।

नशाको शल्यक्रिया गर्न अत्यावश्यक रहेको सिटी स्क्यान प्रतिष्ठानले एक वर्ष अगाडि नै भित्र्याएको थियो । यस क्षेत्रमा दुर्घटनाका कारण टाउको र नशामा चोटपटक लाग्ने धेरै बिरामी आउने भएतापनि न्यूरो सर्जरी सेवा उपलब्ध नहुँदा नेपालगञ्ज र काठमाडौं रेफर गर्नुपर्ने बाध्यता थियो ।

जुम्लामा न्युरो सर्जन पुगेसँगै अब टाउको र नशामा समस्या भएका यस क्षेत्रका बिरामीले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको निर्देशक रावलले बताए ।

प्रतिष्ठानमा हाडजोर्नी तथा नसा रोग, जनरल सर्जरी, स्त्री तथा प्रसुती रोग, मेडिसिन, मानसिक रोग, बालरोग, आँखा, दाँत, आईसीयु, एनआईसीयु, रेडियोलोजी र एनेस्थेसिया सेवा प्रदान गर्दै आएको छ ।