सुशील खड्का
सुर्खेत । फोहाेरबाट ऊर्जा र जैविक मल उत्पादन गर्ने परियोजना निर्माण गर्न सम्झौता गरिएकाे छ । परियोजना निर्माणको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, वीरेन्द्रनगर नगरपालिका तथा परियोजना निर्माणकर्ता कम्पनी के.पी. व्यवसायिक सेवा प्रा.लि.विच काठमाडाैंमात्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौतामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुबेदी र आयोजना निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद ढकालले हस्ताक्षर गरेका छन् । कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा ९ मेट्रिक टन जैविक मल उत्पादन गरिनेछ । उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गरिनेछ ।
परियोजनाबाट करीब १३०० घरधुरी लाभान्वित हुनेछन् । परियोजनाको कूल लागत १४ करोड १५ लाख ६२ हजार रहेको छ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन केन्द्रको प्राविधिक मूल्यांकन समितिले स्वीकृत गरिसकेको छ ।
विश्व बैंक समेतको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम अन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत ९५ करोड ६६ लाख २४ हजार ८ सय अनुदान वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रदान गर्नेछ भने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ताले गर्नेछ । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने उक्त परियोजना अवधि २० वर्षको हुनेछ । परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालन पश्चात् उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।
परियोजनाको लागि आवश्यक जग्गाको व्यवस्था विरेन्द्रनगर नगरपालिकाले गरेको छ । परियोजनाको लागि आवश्यक कच्चा पदार्थको रुपमा नगरपालिकाबाट संकलन हुने कुहिने फोहर, छाडा पशु व्यवस्थापनबाट संकलन हुने गोबर तथा अन्य व्यवसायिक प्रतिष्ठानहरुबाट उत्पादन हुने जैविक फोहर समेत उपयोग गरिनेछ ।
कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले परियोजनाको क्षमता अनुसारको उत्पादन तथा प्राविधिक पक्षमा जोड दिनुपर्ने बताए ।
कार्यकारी निर्देशक अधिकारीले परियोजनाको उपकरण आयात गर्नुपर्ने भएकोले उपकरणहरुको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने, परियोजनाको क्षमता अनुसार उत्पादन हुने ग्यारेन्टी गरेर मात्र आयोजनाको सामाग्री खरीद प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
नगरपालिकाको फोहरबाट ऊर्जा परियोजना तथा व्यवसायिक ठूला बायोग्यास परियोजनाको संख्यामा वृद्धिसँगै यस क्षेत्रमा कार्य गर्ने दक्ष सेवा प्रदायक कम्पनी तथा जनशक्तिको आवश्यकता रहेको उनले औल्याए । यस्ता प्लान्टका निर्माण चरणदेखि नै नगरपालिकाले प्राविधिकहरुलाई संलग्न गराइ भविश्यको लागि प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने सुझाव दिए ।
परियोजना निर्माणको लागि कम्पनी छनौट भइसकेकोले १ वर्षभित्र परियोजना निर्माण सम्पन्न हुने केन्द्रका बायो इनर्जी शाखा प्रमुख मुकेश घिमिरेले बताए ।
विरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देव कुमार सुबेदीले यस परियोजनाले नगर सफा राख्न सघाउ पु¥याउनुको साथै छाडा चौपाया वस्थापन, पशु बधशालाबाट उत्पन्न हुने फोहर व्यवस्थापनमा समेत सघाउ पु¥याउने भएकोले परियोजना बहुउपयोगी तथा एकीकृत ढाँचामा आधारित रहेको बताए ।
लामो प्रयासपछि परियोजनाको सम्झौता गर्न सफल भएको बताउँदै परियोजना समयमै सम्पन्न गर्नको लागि नगरपालिकाले कार्य गर्ने उहाँले बताए ।
परियोजनाबाट छाडा गाइवस्तु र फोहरको समस्या दीर्घकालीन रुपमा समाधान हुने अपेक्षा रहेको बताउँदै निजी क्षेत्रले आयोजनाको उपकरण खरीद र दीगो रुपमा सञ्चालनमा विशेष ध्यान दिनुपर्ने बताए ।
परियोजना निर्माण कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद ढकालले बायोग्यास र जैविक मलको उत्पादन गरी व्यवसायिक रुपमा बिक्री गर्र्न सकिने सम्भाव्यता देखेर परियोजनामा लागनी गर्न लागिएको बताए । परियोजना प्रतिको आफ्नो जिम्मेवारीलाई बुझेरै परियोजनामा लगानी गर्न लागिएकोले तोकिएकै समयमा परियोजना निर्माण सम्पन्न गरिने बताए ।