दैलेख । दैलेखको चार स्थानीय तहमा अस्पताल बनाउने तयारी गरिएको छ । १५ शैया क्षमताका अस्पताल दैलेखका चार स्थानीय तहमा सञ्चालन गरिने भएको हो । यो आर्थिक वर्षभित्र सञ्चालनमा ल्याईने गरि स्थानीय तहहरुले धमाधम काम सुरु गरेका हुन् ।
दैलेखको महावु गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, भगवतीमाई गाउँपालिका र भैरवी गाउँपालिकामा अस्पताल निर्माणका लागि स्विकृत भएका हुन् । स्वास्थ्य मन्त्रालयबाट मन्त्री परिषद् निर्णयबाट दैलेखका चार स्थानीय तहमा अस्पताल सञ्चालनका लागि बाटो स्विकृत गरिएको जनाईएको छ ।
गाउँपालिकाले ६७ लाख र कर्णाली प्रदेश सरकारले १ करोड खर्चमा अस्पतालका लागि पूर्वाधार निर्माण कार्य भईरहेको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।
‘गाउँमै डाक्टरी सेवा दिनका लागि अस्पताल निर्माणको काम धमाधम भईरहेको छ ।’ अध्यक्ष थापाले भने, स्थानीय सरकारको अनुभुति जनतालाई गाउँमै सेवा सुविधा दिएर गराउने प्रयास गरिरहेका छौं ।’ सामान्य विरामी हुँदा पनि सदरमुकाम वा सुर्खेतसम्म विरामीहरु जानुपर्ने बाध्यता अस्पताल निर्माणपछि हट्ने स्थानीय जनक अधिकारीले बताए ।
महावु गाउँपालिकामा अस्पताल निर्माणका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ । गत वर्षदेखी नै अस्पताल निर्माणको कामहरु थालिएको हो । विकट गाउँबस्तीहरु धेरै भएकाले र सदरमुकाम टाढा भएकाले अस्पताल निर्माण आवश्यक भएकाले आवश्यक कामहरु थालिएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए ।
‘गाउँपालिकाले जनताको स्वास्थ्य सेवाका लागि काम गरिरहेको छ ।’ महावु गाउँपालिकाका अध्यक्ष शाहीले भने, सुलभ स्वास्थ्य सेवाका लागि गाउँपालिका जनताप्रति उत्तरदायित्व छ ।’
महावु गाउँ पालिकाले गत वर्ष नै १ करोड रुपैँया विनियोजन गरेको छ । गाउँपालिकाले कार्यविधि मार्फत आवश्यक स्वास्थ्य जनशक्ति र अस्पतालका लागि औचार खरिद गरेर अस्पताल सञ्चालन गरिने अध्यक्ष जंगबहादुर शाहीले बताए ।
त्यस्तै भैरवी गाउँपालिकाले पनि अस्पताल निर्माणका लागि भौतिक निर्माण लगायतका कार्यहरु थालनी गर्ने कार्ययोजना बनाएको छ । गाउँपालिकाले कालिकोटदेखी आउने विरामीहरुलाई समेत अस्पताल बनेपछि सेवा दिने उद्देश्य राखेको छ ।
एम्वुलेन्स लगायतका साधनहरु गाउँपालिकाले किनिसकेको छ । डाक्टरी सेवा सहित अस्पताल सञ्चालनका लागि कार्यविधि सहित काम गर्ने योजना भैरवी गाउँपालिकाको रहेको छ । लामो समयदेखी अस्पताल सञ्चालनको लागि गरिएको प्रतिक्षा समाप्त भएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले बताए ।
गरिव, विपन्न समुदायका जनताहरु अस्पताल बनेसंगै बढी प्रभावित हुने नगर प्रमुख शाहीले बताए । अहिले जिल्ला अस्पताल र दुल्लु अस्पताल सञ्चालनमा आएका छन् ।
त्यस्तै नौमुले गाउँपालिका रहेको प्राथमिक स्वास्थ्य केन्द्र र टाठीकाँध प्राथमिक स्वास्थ्य लकान्द्र, टाठीकाँध गाउँपालिकामा डाक्टरहरु आंशिक बसेर सेवा दिने गरेका छन् । अहिले ती प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन छ ।
जिल्लामै डाक्टरको संख्या कम भएकाले प्राथमिक स्वास्थ्य केन्द्रका लागि डाक्टरहरु नआएका कारण डाक्टर विहिन भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताए ।