सुर्खेत । सुर्खेतमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जिल्लाका झण्डै ४० हजार बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउन अभियान सञ्चालन गर्न लागेको हो ।
पाँच बर्षमुनीका बालबालिकाहरुलाई खोप लगाउन सुर्खेतमा तीन चरणमा अभियान थालिइको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका खोप अधिकृत जीवराज ढकालले जानकारी दिए । अभियान चैत १ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्न लागेको अधिकृत ढकालको भनाई छ ।
सुर्खेतमा एक महिनादेखि २३ महिनाका ११ हजार आठसय २८ र २४ महिनादेखि ५९ महिनाका २७ हजार आठसय ८७ जना बालबालिका छन् । खोप अभियान सञ्चालन गर्न जिल्लाका पाँच सय ८० ओटा खोपकेन्द्र, एकसय ५६ खोपकर्ता र एकहजार एकसय ६० जना स्वंयमसेवक खटिन लागेको अधिकृत ढकालले जनाए ।
पहिलो चरणअन्तरगत वीरेन्द्रनगर नगरपालिकामा चैत १ गतेदेखि ६ गतेसम्म सञ्चालन गर्न लागिएको छ । यस्तै दोस्रो चरणमा सिम्ता र चौकुने गाउँपालिका तथा गुर्भाकोट र पञ्चपुरी नगरपालिकामा चैत ८ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिने ढकालको भनाई छ ।
तेस्रो चरणमा १५ गतेदेखि १९ गतेसम्म भेरीगंगा र लेकवेशी नगरपालिका तथा चिंगाड र बराहतालमा गाउँपालिकामा दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गरिने छ ।
बालबालिकालाई खोप लगाएपछि सामान्य समस्या देखिएपनि विस्तारै पूर्ण रुपमा सन्चो हुने भएकाले अभियानलाई सफल पार्न ढकालले आग्रह गरे ।
खोप नलगाएमा बालबालिकाहरुमा धेरै देखिने र छिटो संक्रमण हुने यो रोगविरुद्धको खोप समयमै नलगाए महामारीको रुपमा फैलिन सक्ने स्वास्थ्यकर्मीको भनाई छ ।