☰ open Loading... 18 November 2024|  

एक वर्षभित्रै टूलेनको सडकमा रारा सरर….
  | ३ चैत्र २०७६, सोमबार १८:४७

सुशील खड्का
सुर्खेत । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा पुग्ने स्थलमार्गको रुपमा एक मात्र विकल्प कर्णाली राजमार्गको नाग्म–गमगढी सडक खण्ड हो । तर कच्ची सडकका कारण रारा पुग्ने जोसुकै पर्यटक र यात्रुहरुले सास्ती झेल्नु परेको छ ।

सडक बनेको एक दशक बित्यो । तर स्तोरोन्नतीको काममा निकै ढिलाई हुदाँ यात्रुहरुले सास्ती भोग्नु परेको हो । नाग्म–गमगढी सडक खण्ड अन्तर्गत मुगु सदरमुकाम पुग्ने सडकको ट्रयाक खोलिए पनि अँझै कालोपत्रे हुन सकेको छैन ।

जुम्ला सदरमुकामबाट उर्थुहुँदै भुलभुलेबाट रारा पुग्ने सडककाे अनुगमन गर्दै अान्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री नरेश भण्डारी ।

यीनै समस्यालाई मध्यनजर गर्दै अब यस सडक खण्ड मर्मतसँगै टूलेन सडक स्तोरोन्नतीको काम सुरु हुने भएको छ । सँधै साँघुरो सडक मार्फत राराको यात्रा गरेका यात्रुहरु अबको एक वर्षभित्रै टूलेनको पक्कि सडकमा सरर..यात्रा गर्न पाउने भएका छन् ।

नाग्मबाट गमगढी जोड्ने सडकको स्तरोन्नती गर्न कर्णाली प्रदेश सरकारले यो वर्ष ३० करोड बजेट विनियोजन गरेको थियो । तर केन्द्र सरकारले नाग्म–गमगढी सडकको स्तरोन्नतीका लागि ५० करोड बजेट विनियोजन गरेपछि प्रदेश सरकारले बजेट रकमान्तर गरेको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार नाग्मदेखि २५ किलोमिटर सडकको डवल कटिङ्ग, नाला, ग्याभिङ्ग वाल र ग्राभेल गर्ने काम आर्थिक वर्ष ०७३÷७४ बाट सुरु गरिएको थियो । तर १३ किलोमिटर सडक निर्माणको काममा नमिता निर्माण कम्पनीले ढिलाइ गरेको छ । कम्पनीलाई अन्तिम पटक चेतावनीसहित काम गर्न म्याद थप गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

बाँकी सडक खण्डको १०÷१० किलोमिटरको निर्माण गर्नेगरी सम्झौताको अन्तिम चरण पुरा भएको कार्यालय प्रमुख लिला भण्डारीले बताए । ‘आगामी असार मसान्तसम्म टूलेन सडक निर्माणको काम सक्नेगरी निर्माण व्यवसयीसँग सम्झौता गर्दैछौ’ उनले भने, ‘अबको १० दिनभित्र फिल्डमा गएर काम सुरु गर्नेगरी निर्माण व्यवसायीलाई खटाउने तयारी छ ।’

टूलेन सडक निर्माणका लागि नाग्मदेखि गमगढीसम्म सडकको ग्राभेल गर्ने, नाला निर्माण, सडक फराकिलो र ग्याभिनवालको काम सञ्चालन गरिने भएको छ । आगामी आर्थिक वर्षमा नाग्म–गमगढी सडक खण्डको ९३ किलोमिटर नै कालोपत्रे गर्नेगरी पहिलो चरणमा सडक फराकिलो बनाउन काम सुरु गर्न लागिएको हो ।

रकमान्तर बजेट उर्थु–भुलभुलेमा
कर्णाली प्रदेश सरकारले ०७५ बैशाखमा कर्णाली–रारा पर्यटन वर्ष धुमधामका साथ शुभारम्भ ग¥यो । बाह्य र आन्तरिक गरी पाँच लाख पर्यटक रारा भि¥याउने लक्ष्य राखेको प्रदेश सरकार अपेक्षा अनुसार पर्यटक भि¥याउन सफल भएन ।

जसको मुख्य कारण नै रारा पुग्ने हवाई र स्थलमार्ग सेवा कमजोर हुनु हो । रारा पुग्न नाग्म–गमगढी सडकको अवस्था बुझेको प्रदेश सरकारले सडक स्तरोन्नतीका लागि चालु आर्थिक वर्षमा ३० करोड बजेट समेत विनियोजन ग¥र्याे ।

तर केन्द्र सरकारले पनि सोही सडक खण्डलाई प्राथमिकता दिदैं बजेट विनियोजन गरेपछि प्रदेश सरकारले विनियोजन गरेको बजेट रकमान्तरण गरियो । उक्त बजेट जुम्ला एयरपोर्टहुदै–उर्थु–भुलभुले सडकमा खर्च गर्न लागिएको छ । रारा वा गमगढी पुग्न नाग्म–गमगढी सडकभन्दा जुम्लाबाट छोटो हुने र पर्यटकले पनि धेरै ठाउँ देख्न तथा घुम्न पाउने भएकाले रकमान्तर बजेट यस सडक खण्डमा हालिएको हो ।

जुम्ला एयरपोर्ट–उर्थु–भुलभुले हुदै रारा पुग्ने पर्यटकले जुम्ला र सिंजा उपत्यका तथा त्यहाँका पर्यटकीय स्थलहरु दुवै एकै पटक घुम्न पाउने छन् । रारा जादाँ सिंजा उपत्यका हुदै जाने पर्यटक फर्किदाँ जुम्ला हुदै र रारा जादाँ जुम्लाहुदै जाने पर्यटकहरु फर्किदाँ सिंजा उपत्यका हुदै आउने भएका हुन् ।

यीनै सहजताका लागि प्रदेश सरकारले उर्थु सडकलाई बहुवर्षिय योजनामा राखेको छ । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले नाग्म–गमगढी सडकमा सडक डिभिजन कार्यालयले विभिन्न चरणमा काम गरिरहेकाले जुम्ला सदरमुकामहुँदै–उर्थु–भुलभुले सडकको स्तरोन्नतीको प्रक्रिया अघि बढाइएको बताए ।

जुम्ला सदरमुकाम–उर्थु–भुलभुले सडकको दुरी ४० किलोमिटर छ । ‘विभिन्न चार प्याकेजमा १३ किलोमिटर सडक ग्राभेल गर्नेगरी ठेक्का प्रक्रियामा छौं’ उनले भने, ‘१९ किलोमिटर सडक निर्माणको काम आगामी पुस मसान्तसम्ममा सक्नेछौ । भने चैतदेखि सडक फराकिलो, कटिङ्ग र ग्याभिन वाल लगाउने काम सञ्चालन गरिनेछ ।’

यस सडक खण्डको पटमारा–न्याउरीघाटसम्म करिव ८ किलोमिटर सडकमा बजेट अपुग भएपछि मन्त्रालयसँग माग गरिएको छ । बाँकी ८ किलोमिटर सडक खण्डको सर्वे गरेर काम गर्दा ढिलाई भएको कार्यालयले स्विकार्यको छ ।

‘विगतमा सडक डिभिजन कार्यालयले गरेको सर्वेका आधारमा थप बजेट माग गरेका छौं’ उनले थपे, ‘मन्त्रालयबाट अपुग बजेट स्विकृत भएपछि सडक निर्माणको बाँकी काम पनि यसै वर्षबाट सुरु हुनेछ ।’