सुशील खड्का
सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) ले विश्वभर नै आक्रान्त पारिरहेको बेला कर्णाली सरकारले ग्रुपमा हिड्ने र अटेरी गर्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजकत्वमा रहेको उच्च स्तरिय अनुगमन समितिको बैठकमा सहभागी सुरक्षा निकायका प्रमुखहरुलाई अत्यावश्यक काम बाहेक आफूखुसी ग्रुपमा हिड्ने नागरिकलाई तत्काल पक्राउ गरेर कारवाही गर्न मन्त्री भण्डारीले निर्देशन दिएका हुन् ।
‘विशेष परिस्थिति बाहेक अन्य काममा भेला नहुन आम नागरिकलाई आग्रह गर्दछु’ मन्त्री भण्डारीले भने, ‘ड्रोनबाट र स्थलगत रुपमा सुरक्षा नियकालाई निगरानी बढाएर अटेरी गर्नेलाई तत्काल कारवाही गर्नुहोस् ।’
बुलबुले उद्यान, खेल मैदान, काँक्रेविहार र सार्वजनिक मैदानमा नागरिकहरु जम्मा हुने क्रममा नरोकिएकाले यस्तो विषम परिस्थितिमा घरमै बस्न मन्त्री भण्डारीको आग्रह छ । अाफ्ना बालबालिकालाइ घर बाहिर गएर कुनै खेल वा ग्रुपमा बस्न नदिन समेत मन्त्री भण्डारीकाे अाग्रह छ ।
हालसम्म कर्णालीमा कोरोना भाइरसका संक्रमित नभेटिएकाले उच्च सर्तकता अपनाउन जरुरी रहेको मन्त्री भण्डारीको भनाई छ । ‘युद्धमाहरुमा गोली पड्कीन्थ्यो, रगत देखिन्थ्यो’ मन्त्री भण्डारीले भने, ‘कोरोनाको संक्रमण फैलिएमा न गोली पड्कीन्छ न रगत देखिन्छ तर मान्छे धमाधम ढल्ने स्थिति आउने भएकाले सबैलाई आ–आफ्नो ठाउँबाट उच्च सर्तकता अपनाउन अनुरोध छ ।’
विपद्को बेला एक ठाउँमा क्षतीहुँदा अन्य मानिसले उद्धार गर्न सक्थे तर कोरोना भाइरसको संक्रमण फैलिएमा नागरिकहरुलाई बचाउँने कोही नहुने स्थिति रहेको भन्दै मन्त्री भण्डारीले थपे, ‘सरकारी तवरबाट उच्च सर्तकता अपनाउन कुनै कसर बाँकी नराखेकाले नागरिकलाई पनि सर्तकता अपनाउन अपिलछ गर्दछु ।’
मन्त्री भण्डारीले बजारमा कालाे बजारी गर्नेलाइ तत्काल कारवाही गर्ने र अनुगमन कार्यलाइ तिव्रता पारिएकाे बताए । अान्तरिक रुपमा अनुगमन गर्न ग्राहक बनाएर केही व्यक्तिहरु परिचालन गरिएकाे पनि मन्त्री भण्डारीकाे भनाइ छ ।