☰ open Loading... 29 November 2024|  

सगरमाथा विद्यालयले राहत वितरण गर्यो
  | २६ चैत्र २०७६, बुधबार १०:१०

चैैैत्र २६,नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सगरमाथा ई.मि. हाई स्कुलले अति विपन्न, ज्याला मजदुरी गर्ने परिवारलाई सहयोग प्रदान गरेको छ । मंगलवार वडा नं. १८ का पशुपति नगरका २० जना अति गरिव र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई स्कूलले राहत प्रदान गरेको हो । वडा १८ का वडा अध्यक्ष दिपक कुमार बर्माको अध्यक्षतामा उक्त परिवारलाई राहत वितरण गरिएको थियो । राहतका लागि स्कूलका संस्थापक सदस्य लक्ष्मी जिसीले २२ हजार ३०० मंगलवार स्कूल प्राङगणमा चेक हस्तान्त्रण गर्नुभएको केही छिनमै राहत वितरण गरिएको थियो । चेक हस्तान्त्रण गर्दै संस्थापक सदस्य जिसीले लकडाउनको समयमा आफ्नो घरमा जान नसेका, दैनिक मजदुरी गर्ने र रिक्सा चालक जस्ता परिवारलाई केही भएपनि राहत मिलोस भनेर सानो सहयोग प्रदान गरेको संस्थापक सदस्य जिसीले जानकारी गराउनुभयो । यस्तो विपदमा वास्तविक गरिवी अति विपन्न परिवारले राहत पाउनु पर्ने उहाँले धारणा राख्नुभयो ।

वडा नं. १८ मा अति विपन्न परिवार र दैनिक मजदुरी गर्ने २० जना नागरिकलाई १० किलो चामल, ५ किलो पिठो, २ किलो दाल, १ लिटर खाने तेल, एक पोका नुन, २ किलो आलु राहत प्याकेज सामाग्री सगरमाथा स्कूलले प्रदान गरेको वडा अध्यक्ष बर्माले जानकारी गराउनुभयो । यस्तो विपदमा सगरमाथा स्कुल जस्ता मनकारी हातहरुको खाँचो रहेको अध्यक्ष बर्माले जानकारी गराउनुभयो । विश्वभर कोरोना भाइरसको संक्रमण बढदै गएको बेला लकडाउनमा परेका अति विपन्न परिवारलाई राहत वितरण गरिएको थियो । कोरोनाको संक्रमण बढदै जाँदा नेपाल सरकारले पनि यसको उपाय र रोकथामको लागि लकडाउन घोषणा गरेको आज १४ दिन पुरा भएको छ । लकडाउनको कारण बन्दमा परेका नागरिक अहिले मारमा परेका छन् । अति विपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवार झनै मर्कामा परेका छन् ।