☰ open Loading... 28 November 2024|  

सुर्खेतकाे क्वारेन्टाइनमा बसेका १८३ जना घर फर्के
  | २९ चैत्र २०७६, शनिबार १८:५०

सुशील खड्का
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चमा रहेको क्वारेन्टाइनमा बसेका एकसय ८३ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । स्वाबकाे रिपोर्टमा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई आज घर पठाइएको हो ।

नेपाली सेनाको व्यवस्थापनमा कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको वीरेन्द्रनगर खुलामञ्चस्थित क्वारेन्टाइनमा बसेका ६ जिल्लाका १८३ जनालाई घर पठाइएको छ ।

क्वारेन्टाइनमा एक सय ८८ जना बसेकामा ५ जनाकाे रिपाेर्ट नअाएकाले क्वारेन्टाइनमै राखिएकाे छ । १४ दिन क्वारेन्टाइनमा बसेर घर जानेहरुमा दैलेखका ८७, सुर्खेतका ५७, जाजरकोटका २०, जुम्लाका १६, कालिकोटका ७ र अछामका एक जना जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लले जानकारी दिए ।

पाँच जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरुकाे रिपार्ट अाएपछि मात्रै घर पठाइने वाग्लेकाे भनाइ छ ।  क्वारेन्टाइनमा चैत १५ देखि भारतका विभिन्न स्थानबाट फर्किएकाहरुलाई बसालिएको थियो ।

त्यसअघि उनीहरुलाई करिब चार दिन वीरेन्द्रनगरको होटल, विद्यालय र गैरसरकारी संस्थाको होस्टेलमा राखिएको थियो । क्वारेन्टाइनमा बस्दा कुनै अभाव नभएको र त्रासमा बसिरहेको बेला रिपोर्ट नै नेगिटिभ आउँदा ढुक्कले घर जान पाएकोमा खुसी लागेको दैलेखका बिस्ना विष्टले बताइन ।

क्वारेन्टाइनमा बसेर फर्किएकाहरुलाई अनिवार्य सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । कोरोना भाइरसको रोकथामका लागि जिल्लाभर पाँच वटा हेल्थ डेस्क स्थापना गरिएको छ भने १९ स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । यी मध्य सात वटा क्वारेन्टाइनमा ८७ जना राखिएको छ ।