सुर्खेत, १४ माघ ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतमा अलपत्र नेपालीहरुलाई उद्धार गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीसँग शनिबार भएको भिडियो संवादमा मुख्यमन्त्री शाहीले भारत लगायत देशमा अलपत्र परेका नेपालीको उद्धार गर्न आग्रह गरेका हुन् ।
कोरोनको उच्च जोखिममा भएपनि कर्णालीमा कोरोना संक्रमित भएको प्रमाणित नहुनु खुशीको कुरा भएको जानकारी मुख्यमन्त्रीले गराएका थिए । ‘कर्णालीका हजारौं युवाहरू अहिले भारतका विभिन्न शहरमा अलपत्र परिरहेको खबर आइरहेको छ ।
उनीहरूको रोजगारी कोरोनाले खोसेको छ । ठाउँठाउँमा अलपत्र परेको खबर आइरहेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘संघीय सरकारले भारत सरकारसँग कुराकानी गरेर भएपनि ती नागरिकलाई त्यहीँ बस्ने व्यवस्था गरोस् वा कर्णाली फर्काउन पहल गरिदिन आग्रह गर्दछु ।’
कोरोनालाई नियन्त्रण गर्न लकडाउनको अवधि बढाउन पनि प्रधानमन्त्री समक्ष माग थियो । प्रदेशमा आवश्यक स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्था र तीब्रगतिमा कोरोना परीक्षण भइरहेको बारे प्रधानमन्त्रीलाई शाहीले जानकारी गराएका थिए ।