☰ open Loading... 25 November 2024|  

दैलेखको दुल्लुमा २३०० क्वारेन्टिनभित्र, स्वाब पठाएको ६ दिनमा ९ जनाको मात्र आयो रिपोर्ट
  | २२ जेष्ठ २०७७, बिहीबार १५:४१

दैलेख- दुल्लु नगरपालिकाको क्वारेन्टिनमा रहेका ९ जनाको कोरोना परीक्षण गर्दा ७ जनाको कोरोना पोजेटिभ देखिएको छ।केहीदिन अघिदेखि भारतको मुम्बई र गुजरातबाट आएका २३ सय जना मध्ये २०० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।
प्रतिष्ठानले अहिलेसम्म ९ जनाकोमात्र परीक्षण सकिएको र तीमध्ये ७ जनाको कोरोना पोजेटिभ आएको हामीलाई खबर गरेको छ,’ दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले भने।स्वाब संकलनका लागि पठाएको ६ दिनमा जम्मा ९ जनाकोमात्र परीक्षण हुन सकेको उनले जानकारी दिए।
आफूहरूसँग पिसिआर परीक्षण गर्ने किट र स्वाब संकलनको क्षमता हुँदाहुँदै पनि परीक्षण हुन नसक्ने अवस्था रहेको उनले बताए।

क्वारेन्टिनमा बसेको १४ दिन पुगेका मानिसहरूलाई परीक्षण नगरी घर पठाउन पनि नसक्ने र राख्न पनि नसक्ने स्थिति दुल्लु नगरापालिकाले बेहोर्नु परेको छ।
अस्ति र्‍यापिड किटले जाँच्दा नेगेटिभ आएका सबैको पछि पोजेटिभ देखियो, त्यसको पनि भर भएन। हामीले पिसिआर किट किनेरै ल्याएका थियौं स्वाब संकलन पनि दिनमा ६ सयको गर्न सकिन्थ्यो तर परीक्षण गर्न सकिने स्थिति भएन,’ उनले भने, ‘अहिले क्वारेन्टिनमा रहेकालाई नजाँची घर पठाउँदा गाउँमै सर्ला भन्ने पीर छ।’

क्वारेन्टिनमा बसेको १४ दिन पुगेका मानिसले कि परीक्षण गर कि घर जान देऊ भनेर उनीहरूलाई दबाब दिन थालेका छन्।उता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदेशभरिका ११ सय स्वाब परीक्षणको लाइनमा छन्। प्रतिष्ठानका निर्देशक मंगल रावलका अनुसार दैनिक २ सय जाँच्दा पनि ६ दिनमा बल्ल रिपोर्ट आउँछ। अहिले सुर्खेतको प्रयोगशालामा परीक्षण प्राविधिक कारणले स्थगित भएको र त्यहाँका स्वाब समेत आफूहरूकहाँ आएको उनले बताए।

दुल्लुमा भने रिपोर्ट आउन ढिलो हुँदा व्यवस्थापन पनि जटिल हुने र एकबाट अर्कोमा संक्रमण फैलिने डर छ। दुल्लु नगरपालिकाले स्कुल, क्याम्पस र विद्युत कार्यालयको भवन गरी ४० वटा क्वारेन्टाइन बनाएको छ। जसमा सोमबारसम्म भारतबाट आएका २ हजार ५ सय मानिस बसेका छन्।

‘यतिधेरै मानिसहरू भएको ठाउँमा संक्रमण एकअर्कामा फैलिने सम्भावना धेरै छ। व्यवस्थित क्वारेन्टिन छैनन्, रिपोर्ट छिटो आएको भए पोजेटिभ र नेगेटिभलाई छुट्याउन हुन्थ्यो व्यवस्थापन सजिलो हुन्थ्यो,’ नेपालले भने। उनका अनुसार भारतबाट अझै १० हजार मानिस दुल्लु नगरपालिकामा आउन सक्ने अनुमान गरिएको छ।
अर्कातिर दुल्लु नगरपालिकामा भएका २ जना डाक्टरसमेत क्वारेन्टिनमा भएकाले संक्रमितको उपचार पनि प्रभावित हुने प्रमुख प्रशासकिय अधिकृत नेपालले बताए।

यसअघि कोरोना देखिएका ३ जनाको र्‍यापिड टेष्ट गरेका र स्वाब झिकेका दुबै डाक्टर अहिले क्वारेन्टिनमा छन्। जुम्लाको कर्णाली प्रतिष्ठानबाट आजमात्र २ जना डाक्टर आइपुगेका छन्।
प्रमुख प्रशासकीय अधिकृत नेपालले दुल्लुमा संक्रमण भयावह हुन सक्ने भन्दै यहाँ विषेश ध्यान दिन सरकारलाई अनुरोध गरेका हुन।@सेताेपाटी