दैलेख – दुल्लू नगरपालिकामा पिसिआर मेशिन जडान हुने भएको छ । दैलेखबाट पठाइएका स्वावको परिक्षण प्रतिवेदनमा ढिलाई हुँदा नगरपालिकाे दुल्लू अस्पतालमा उक्त मेशिन संचालन गर्न लागिएको हो ।
सोमबारसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । जसमध्ये दैलेखमा ३ सय ६७ जना संक्रमित पुष्टी भएका छन् । दैलेख प्रदेशकै सबैभन्दा धेरै संक्रमित भएको जिल्ला मानिन्छ।
नगरपालिकाबाट पिसिआरका लागि पठाइएका स्वावको हालसम्म पनि परिक्षण प्रतिवेदन नआएकोले नगरपालिकामै मेशिन जडान गरिने दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताए।
जेठ १५ गते २ सय २ जनाको स्वाव संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा र जेठ १७ गते १ सय १६ जनाको स्वाव प्रदेश अस्पताल सुर्खेतमा पठाइएको हो’ नगरप्रमुख भण्डारीले दुल्लूखबरसँग भने, ‘यतिका दिन हुँदासम्म परिक्षण प्रतिवेदन आएको छैन । जसको कारण नागरिक अन्यौलमा छन् ।’
भारत लगायतका अन्य स्थानबाट आएका नागरिकलाई निश्चित समयसम्म क्वारेन्टाइनमा राखी पिसिआर परिक्षण गरेर संक्रमण नदेखिएकालाई मात्र घर पठाइने योजना रहेको नगरप्रमुख भण्डारीले जानकारी दिए ।
‘हाम्रो योजना अनुसार परिक्षणको लागि थप नमुना नपठाउन प्रयोगशालाले सूचित गरेको छ । क्वारेन्टाइनमा बसेका नागरिक १४ दिन भन्दा बढि क्वारेन्टाइनमा बस्न मानेका छैनन् ।’ नगरप्रमुख भण्डारीले भने, ‘उनिहरु पिसिआर परिक्षणको माग गर्दै आन्दोलित भईरहेका छन् ।’
लामो समयसम्म क्वारेन्टाइनमा राख्दा उनिहरुलाई खानपिन तथा बसाई व्यवस्थापनमा नगरपालिकाको स्रोत साधन र आर्थिक अभाव भएको उनको भनाई छ ।
दुल्लू नगरपालिका सहित जिल्लाका अन्य स्थानीय तहले पिसिआर मेशिनको जिम्मा लिनेगरि दुल्लू अस्पतालमा जडान गर्न कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा पहल गरिएको नगरप्रमुख भण्डारीले बताए ।
साथै दुल्लू अस्पतालको जनशक्ति व्यवस्थापन र सञ्चालनको जिम्मेवारी दुल्लू नगरपालिकाले लिने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै, सामाजिक विकास मन्त्रालयले पनि मेशिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले दुृल्लू अस्पतालमा मेशिन जडानका लागि आवश्यक पर्ने प्रयोगशालामा प्रयोग हुने सामाग्री तथा जनशक्ति व्यवस्थापन गर्न सक्ने अवस्था रहे वा नरहेको जानकारी गराउन नगरपालिकालाई पत्र पठाइसकेको छ ।
सोही पत्र अनुसार नगरपालिकाले जनशक्ति व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिनसक्ने बताएपछि अबको केही दिनमै मेशिन जडान गर्न सफल हुने नगरप्रमुख भण्डारीको बताए ।
| २७ जेष्ठ २०७७, मंगलवार १७:१८