सुर्खेत-व्यवसायसँगै समाजसेवामा युवा व्यवसायी तिर्थ सुनारको केही समययता अर्को परिचय बनेको छ ‘समाजसेवी’ । दुखी, गरिब र असहायको सहारा बन्दै आएका उनले लकडाउनमा समस्यामा परेका ५० घरधुरीलाई लत्ताकपडा, खाद्यान्न, मास्क र साबुन सहयोग गरे । उनीसँग एक वर्षको अवधिमा झन्डै एक सयजनालाई सहयोग गरेका छन् ।
तिर्थकै सहयोगले वीरेन्द्रनगरस्थित साझाघर सञ्चालनमा सहयोग पुगेको छ । साझाघरमा पुगी तिर्थले दर्जनौंपल्ट बालबालिका, असहाय, बृद्धलगायतलाई सहयोग गरिरहेका छन् । ‘गरिब, दुखीको पीडा देख्नै सक्दैन,’ उनले भने, ‘त्यसैले सानैदेखि आफूलाई पुगोस्/नपुगोस् समस्यामा परेकालाई सहयोग गर्ने बानी बसेको छ ।’ दैलेखको दुल्लु नगरपालिका-११ का सुनारले वीरेन्द्रनगरमा १२ वर्षदेखि न्यू दैलेखी पञ्चकोशी कालभैरव आभुषण कला केन्द्र सञ्चालन गरिरहेका छन् । राजनीतिमा पनि सक्रिय उनले समाजसेवाबाटै आफूलाई आत्मसन्तुष्टि मिलेको बताए । उनैको सहयोगबाट आश्रयघर चलाउन सहयोग पुगेको साझाघरका महासचिव विनोद चौलागाई बताउँछन् । ‘संस्था चलाउन हम्मेहम्मे थियो,’ उनले भने, ‘तिर्थजीको सहयोगले आश्रम र आश्रितलाई धेरै ठूलो राहत मिलेको छ ।’ नेकपा दुल्लु नगर कमिटी सदस्यसमेत रहेका सुनार विभिन्न सामाजिक अभियानमा पनि सक्रिय छन् ।
यस वर्ष उनले तल्लो डुंगेश्वरस्थित पञ्चकोशी युवा क्लबलगायत आधा दर्जन संस्थालाई विभिन्न अभियान सञ्चालन गर्न नगद सहयोग प्रदान गरे । ‘विभेद, उत्पीडन र अनियमितताविरुद्धका सामाजिक अभियानमा पनि सक्रियता जनाइरहेको छु,’ उनले भने, ‘अरुको आँखामा आसु देख्न नसक्ने भएकाले होला, पीडित, गरिब र दुखीलाई आफूले सक्ने सहयोग गरिरहेको छु ।’ प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका तिर्थ आमा मैनकला सुनार र बुवा सरु सुनारका राईलो सन्तानको रुपमा २०४९ वैशाख २ गते जन्मिएका हुन् । बन्डाली देवताका धामीसमेत भएकाले आफूमा समाजसेवी भावना कायम रहेको उनले सुनाए ।
| १ श्रावण २०७७, बिहीबार ०७:०६