☰ open Loading... 24 November 2024|  

आज बीपीकाे आत्मा मात्र हैन देश रोइरहेको छ !
  | ६ श्रावण २०७७, मंगलवार १९:५७

‘तानशाही व्यवस्थालाई प्रजातान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो ।’

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वः विश्वेश्वरप्रसाद कोईरालाका उत्कृष्ट भनाइहरु मध्येको एक भनाइ हो यो । जुन भनाइले अहिलेको अस्थिर नेपाली राजनीतिको अवस्थालाई स्पष्ट ढंगले बोलेको छ ।

वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा भईरहेको तानाशाही व्यवस्थालाई यो भनाईले थप प्रस्ट्याएको देखिन्छ । आज जननायक विपीको ३८औँ स्मृति दिवस अर्थात् उनको स्वर्गारोहण भएको ३७ वर्ष पुरा भएको छ ।

विगतका ३७ वर्ष यता विपीका विचार र सिद्धान्तलाई अंगालेर अघि बढ्नुको साटो नेपाली राजनीतिमा उनको नामलाई मात्रै उनका स्मृति दिवसमा सम्झिएर योगदानको चर्चा गरिनु विडम्बना हो ।

अँझ भनौँ सारा मुलूकले सम्झिनुपर्ने जननायक विपीलाई नेपाली कांग्रेसले मात्रै सम्झिनु कहाँसम्मको दुःखद पक्ष हो ? कांग्रेस पनि आफ्ना संस्थापक भन्दै उनको विचार र सिद्धान्तलाई बेचेर जनताको विश्वास किन्ने प्रयासमा छ ।

विपीले नेपाली राजनीतिमा दिएको योगदानको कदर शब्दहरुमा गरिन्छ तर उनले देखाएको मार्गलाई न त देशले अनुसरण ग¥यो न त नेपाली कांग्रेसले नै ।

अघिल्ला वर्षहरुजस्तै यो वर्ष पनि उनको फोटोमा माल्यार्पण गर्दै, उनैमा समर्पित अनकौँ शब्दहरुले सामाजिक सञ्जालका भित्ताहरु रंग्याउँदै र मुक्तकण्ठले उनैको नाम लिएर उत्कृष्ट भाषण गर्दै स्मृति दिवस मनाईयो ।

नेपाली राजनीतिमा विपीले गरेको योगदानको चर्चा नगरेको सायदै कुनै राजनीतिक नेता छैन । तर उनको योगदानलाई पुनः दोहो¥याउने प्रयत्न अहिलेसम्मको राजनीतिक इतिहासमा कसैले गरेको छैन ।

राजनीतिक क्षेत्रमा रहेका अहिलेका अगुवा नेता भन्नेहरुले विपीको विचार र सिद्धान्तमाथि लात हानिरहेको अनुभुति हामी सहजै गर्न सक्छौँ । सारा मुलुकले त सम्झिएन तर अभिभावक बनेर कांग्रेसको बलियो जग खनेका दुरदर्शी नेतालाई कांग्रेसले सम्झिने मात्रै होईन उनले देखाएको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूलभूत मान्यताहरुलाई अंगाल्दै सोही बाटोमा हिँडेमा विपीप्रति सच्चा श्रद्धाञ्जली भएको ठहरिनेछ ।

नेपाली राजनीतिक र साहित्यिक क्षेत्रमा अतुलनीय योगदान गरेका विपीको राजनीतिक इतिहास केलाउँदा नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्ने मुल उद्देश्यका साथ अघि बढेका उनकै सक्रियता र बलिदानीस्वरुप विसं २००७ सालमा राणशासनको अन्त्य भई प्रजातन्त्र बहाली भयो ।

समाजवाद र विपी साईनो

नेपालको वर्तमान नेकपा सरकारले समाजवादउन्मुख बाटो अपनाएको भनिरहेको छ । अहिलेको सरकारको समाजवादका विषयमा धेरै चर्चा र परिचर्चा भईरहेका छन् । आम नागरिकहरुले समाजवादका विषयमा भईरहको छलफल र वहसको नतिजा र सरकारको कार्यशैली तथा व्यक्तिगत जीवनशैली नै समाजवादको मर्म विपरित रहेको भनि टिप्पणी भईरहेको छ ।

अहिलेको सरकारले भनिरहेको समाजवादसँग जननायक विपीको समाजवादलाई जोड्ने हो भने उनले अंगालेको समाजवाद बुझ्न यति कठिन थिएन जति अहिले छ । उनको समाजवादले भन्छ– सबै नेपालीले सहज रुपमा हरेक सेवा पाउनुपर्छ, गास, वास, कपास, औषधी, शिक्षा, स्वच्छ पिउने पानी, रोजगारी, मोटरगाडीको सुविधा हरेक नेपालीले पाउनुपर्छ भन्ने उनको समाजवाद हो ।

विशेष गरी बीपीले समाजवादको व्याख्या गर्दा घरबास र जमिनको न्यायिक वितरणमा विशेष जोड दिए । कम्युनिस्ट घटकहरुले पनि बास र जमिनको वितरणलाई सधै जोड दिँदै आए ।

कागजमा लेखिएको नीतिमा जस्तो महत्व दिए पनि अहिले नेपालमा घरबास र जमिन वितरण दुबै ओझेलमा छन् । विपीले वि.सं. २०१२ मा समाजवादलाई सहज तरिकाले आफ्नो दल नेपाली कांग्रेसको विधानमा राख्ने काम गरे । आज आएर समाजवादको कुरा गरिरहँदा उनको दुरदृष्टिले देखेको आजको समयले गर्दा नै समाजवादको विषय उठेको हो ।

उनको समाजवादमा प्रजातन्त्र अपरिहार्य तत्व बनेको थियो । नागरिक सार्वभौमसत्ता सम्पन्न शासनभन्दा पनि सर्वोपरि हुनुपर्ने उनको सिद्धान्त हो ।

अहिलेको नेतृत्वले गर्नैपर्ने काम

राजनीतिमा सामाजिक प्रजातन्त्रवादी र साहित्यमा प्रयोगवादी मनोविश्लेषक विपी मूलतः समाजको एक प्रगतिशील तथा गतिशील योद्धाका रुपमा हामीमाझ सधैं जीवित छन् । उनी आफु सरल जीबन बाँचेर जनतालाई सहज जीबन दिन चाहने नेता भएका कारण पनि जननायक महान नेताका रुपमा दर्जा पाए ।

लोकतन्त्रप्रतिको अटल विश्वास र जनताको शक्तिप्रतिको अविचल आस्थाले वीपीलाई नेपाली माटोमा अमर बनाएको छ । अबका राजनीतिक नेतृत्वले विपीको नाम, सिद्धान्त, योगदान र विचारलाई सम्झनामा मात्रै होईन व्यवहारमा उतारेर उनले कल्पना गरेको नेपाल बनाउनुपर्ने बाटोमा हिँड्नुपर्ने आवश्यता देखिएको छ ।

उनकै अथक प्रयास र मिहेनतस्वरूप राणाशासनको अन्त्य भयो । उनकै विचार र सिद्धान्तलाई अनुसरण गरेको त्यसपछिका राजनीतिक नेतृत्वका कारण सयौँ वर्ष पुरानो राजतन्त्र पनि अन्त्य भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । त्यसैले आज हामीहरू गणतन्त्र नेपालका सम्मानित नागरिकका रूपमा शिर ठाडो गर्न पाएका छौं ।

संविधान निर्माण, सङ्क्रमणकालको अन्त्य र सबल र समृद्ध राष्ट्र निर्माणका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूको सहकार्यको निरन्तरता भोलिका निम्ति पनि अपेक्षित, आवश्यक र अपरिहार्य छ ।

नेपाल अहिले पनि विपीले अगाडि सारेको नीति राष्ट्रिय मेलमिलाप र अन्तर्राष्ट्रिय मेलमिलापको प्रतीक्षामा छ । वीपीले अंकित गरेको बाटोमा नेपालका राजनीतिक नेतृत्व नहिँडेकाले नै हाल राजनीतिमा अस्थिरता सिर्जना भएको छ ।

नेपाल इतिहासको संकटपूर्ण अवस्थाबाट गुज्रँदै छ भन्ने विषयलाई अँझै पनि नजरअन्दाज गर्ने हो भने नेपाली जनता ठूलो संकटमा पर्नेछन् । अहिले मुलुक अँध्यारो अनिश्चित भविष्यतर्फ उन्मुख भईरहेको बेला अँझै पनि यी नेतृत्वबाट आत्मालोचना नभएमा मुलुक अस्थिरता र अनिश्चयको खाडलमा भासिने निश्चित देखिन्छ ।

वीपी कोइरालाले नेपाललाई दिएको मानवीय संस्कृति राष्ट्रियता र प्रजातन्त्र एउटा सिक्काका दुई पाटा हुन् भन्ने हो । राज्य नहुने हो भने प्रजातन्त्रको शासन कहाँ प्रयोग गर्ने ? प्रजातन्त्र नै नहुने हो भने राज्यले कसरी जनताका आवश्यकताको जानकारी पाउने र तिनको सेवा गर्ने ? सबैभन्दा पहिले मानवीय व्यक्तिगत स्वतन्त्रताको जगेर्ना गर्ने काम सरकारले गर्नुपर्छ ।

जसका लागि सरकार जनताप्रति जवाफदेही हुनु आवश्यक छ । प्रजातन्त्र र समाजवादलाई मिश्रण गरेर जनताका आवश्यकता पूरा गर्ने प्रणालीको प्रजातान्त्रिक मोडेल नेपालमा गराउने लक्ष्य लिएका विपीप्रति सम्मानका लागि उक्त मोडेललाई सार्थक बनाउन अहिलेका आफूलाई असल नेता भन्नेहरु जुट्नु आवश्यक छ ।

विपीले नेपाली राजनीति र साहित्यमा पु¥याएको महत्वपुर्ण योगदानबाट कोही नेपाली पनि अनभिज्ञ छैन । विपीले अवलम्वन गरेको राष्ट्रिय मेलमिलापको नीतिलाई अनुसरण गरी अहिलेको नेतृत्व अगाडि बढ्न सके उनीप्रतिको सच्चा सम्मान हुनेछ ।

राजनीतिमा प्रजातान्त्रिक समाजवाद र साहित्यमा अराजकतावादी जीवन दृष्टि र दर्शनलाई आत्मसाथ गरेर अघि बढेका बिपी नेपाली राजनीतिक र साहित्याकाशका एक चम्किला नक्षेत्र हुन् ।

अहिले राजनीतिमा विपीको अभाव खड्किएको महसुस गर्दै शब्दहरुले सामाजिक सञ्जालका भित्ता रंग्याउनेहरुले उनका विचारलाई अंगाल्दै फेरि पनि विपीले निर्माण गरेको देशको चित्र बनाउन सबैको एक्यवद्धताको खाँचो छ ।

विपी कांग्रेसका मात्र नभई देशका नायक हुन् । त्यसकारण अब देशले नै उनको योगदानको चर्चा मात्रै नभई सिद्धान्त र मार्गदर्शनलाई कार्यान्वयन गरी साच्चिकै प्रजातान्त्रिक मुलुक बनाउन सके उनीप्रतिको उच्च सम्मान हुनेछ ।

झण्डै–झण्डै राणा शासनको चित्र प्रस्तुत गरिरहेको अहिलेको शासन व्यवस्थालाई धर्मराउन नदिन कांग्रेसले अहम् भुमिका खेली पुनः विपी विचारलाई राष्ट्रमा परिचित गराउन आवश्यक छ ।

अब यसरी फुटेर होईन जुटेर हामीले आफ्नो सिद्धान्त त्यागेर कोहिसँग पनि सम्झौता गर्नुहुँदैन भनेर विपीले भनेझैँ यो भनाईलाई अनुसरण गर्दै अबका राजनीतिक पार्टीका नेतृत्वहरु अगाडि बढेमात्रै विपीप्रतिको सच्चा श्रद्धाञ्जली ठहरिन्छ ।

अहिलेको राजनीतिको अवस्थाका कारण विपीको आत्माले गतिलो जननेता पुकार्दै देश बचाउन गुहार माग्दैछ । उनीप्रती सच्चा सम्मान दिई उनको आत्मालाई शान्ती दिलाउन अब देशलाई विपी सिद्धान्त र बिचारबमोजिम अघि बढाउन सबै जुट्नुपर्छ । जहाँ भोक नहोस्, रोग नहोस्, सडक होस् मृत्यु मार्ग नहोस्, नेता होस् भ्रष्ट नहोस्, सत्ता होस् शासक नहोस् । देश बाँचोस् जनता हाँसोस् । जय नेपाल !