☰ open Loading... 24 November 2024|  

बाँझो जमिनको सदुपयोग गर्न अनिवार्य खेती
  | ९ श्रावण २०७७, शुक्रबार १८:०५

सुर्खेत  । कर्णालीका जनताको मुख्य पेशा र जीविकोपार्जनको प्रमुख आधार कृषि हो । फलफूल, तरकारी, मसलाबाली, मौरीपालन, स्थानीय रैथाने, खाद्यन्न बालीका साथै पुशपालन गरेर जनताले जीविका चलाउँदै आएका छन् । कोरोना भाइरसले हजारौँ युवा स्वदेश फर्किएपछि वर्षौँदेखि बाँझो रहेको जमिनमा खेती गर्न अग्रसर गराउँन प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सबै पालिकाहरुमा बजेट पठाएको छ ।

फायल तस्वीर ।

कर्णालीमा कुल २५ लाख २५ हजार दुइसय ७५ हेक्टर जमिनमध्य झण्डै १२ प्रतिशत अर्थात दुई लाख ९९ हजार तीनसय ३९ हेक्टर जमिन खेतीयोग्य छ । योमध्य पनि दुई लाख १६ हजार आठसय ८० हेक्टर जमीनमा मात्रै खेती गरिँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

तर प्रदेशमा ८२ हजार चारसय ५९ हेक्टर खेतीयोग्य जमिन बर्षौदेखि खेतीपाती नभई बाँझो र गैरकृषि कार्यमा प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ । त्यहीँ बाँझो जमिनमा अनिवार्य खेती गर्न लगाउने र उत्पादन बढाउन मन्त्रालयले प्रति पालिकाहरुलाई १७ लाख २५ हजारका दरले रकम पठाइसकेको मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले जानकारी दिए । उनले चक्लाबन्दी गरेर होस् वा बाँझो जमिनलाई कृषिको रुपमा उपयोग गर्न बजेट पठाएकाले बाँझो जमिनको सदुपयोग भएको विवरण प्राप्त भएको उल्लेख गरे ।

गत आर्थिक वर्ष पठाएको बजेटबाट प्रदेशभित्र कम्तीमा झण्डै आठसय पचास हेक्टर बाँझो जमिनमा खेती गरिएको प्रारम्भीक विवरण आएको सचिव शर्माको भनाई छ । कर्णालीमा भारतबाट झण्डै ५० हजार नागरिक भित्रिएकाले उनीहरुलाई यहीँ रोजगारी दिन यो अभियान सञ्चालन गरिएको हो ।

कोरोनाको संक्रमण कम हुँदै गए भारत लगायत अन्य देशमा जाने युवाहरूको संख्यामा कमी आउने र बाँझो जमिनमा खेती विस्तार गर्दा खाद्य सुरक्षामा गम्भीर असर पर्न नदिने मन्त्रालयको उदेश्य रहेको जनाएको छ । खाद्यन्न र नगदे बाली उत्पादनमा बृद्धि हुने अपेक्षा पनि मन्त्रालयको छ ।

कोरोनाका कारण उत्पादन र उत्पादकत्वमा कमी आउन सक्ने अनुमान गरेर खाद्य सुरक्षाको प्रात्याभूति हुने विश्वास मन्त्रालयको छ । गाउँ फर्किएका नागरिकहरुलाई स्वदेशमै कृषितर्फ आकर्षित गराउन कर्णाली सरकारले नै ५० वर्षदेखि बाँझो रहेको जमीनमा खेती गरेको छ ।

बाँझो रहेको जमिन प्रयोग गरेर उत्पादन गर्न सकिन्छ भनेर देखाउन आफैंबाट खेती गरेर उत्पादनको काम शुरू गरिएको बताउँदै आएको मन्त्रालयले कृषि कर्म मन्त्री, सचिव, कर्मचारीहरुले पनि गर्छन् र यो पेशा सम्मानित पेशा हो भन्ने देखाउन बाँझो जमिनको सदुपयोग गरिरहेको जनाएको छ ।