साउन २५-दैलेखको दुल्लु नगरपालिका–६ पुसाकोटकी वशन्ती विक महिनावारी बार्न चार दिनदेखि छाउगोठमा बस्दै आएकी थिईन्। असार आठ गते मुसलधारे पानी परिरहेको थियो। घरदेखि टाढा जंगल छेउको छाउगोठभित्र किराहरु पस्न थाले। वशन्तीले जेठो छोरा रुपेन्द्रलाई घरबाट आगो ल्याउन लगाइन्। छाउगोठको भित्री कुनामा आगो बालिन्। बेलुका आठ बजेतिर खाना खाँदै गर्दा वशन्तीको शरिरमा आगो सल्कियो।
‘खाना थप्न आएको छोराले थाहा पाएर गाउँले गुहारेछ,’ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेकी वशन्तीले भनिन्, ‘भोलिपल्ट होस्मा आएपछि मात्रै शरिर जलेको थाहा पाएँ।’ चिकित्सकहरुका अनुसार वशन्तीको बायाँ पाखुरा र छातीतर्फको पाँच प्रतिशत भाग जलेको छ।
सरकारले अघिल्लो वर्ष कर्णाली र सुदूरपश्चिममा रहेका छाउगोठ भत्काउने अभियान सञ्चालन ग¥यो। छाउगोठ भत्काउन तत्कालिन प्रहरी महानिरीक्षक आफै जिल्ला–जिल्लामा पुगे। छाउगोठ रहेका जिल्लाहरुले एक महिनामै छाउगोठमुक्त घोषणा गरे। उतिबेला कर्णालीमा पाँच हजार छाउगोठ भत्काइएको घोषणा गरियो। तर, अहिले पनि गाउँमा छाउगोठ छन्। महिलाहरु अझै छाउगोठका कष्टकर दैनिकी बिताउँछन् भन्ने एक उदाहरण वशन्ती हुन्।
आगोले जलेपछि पनि वशन्तीलाई तत्कालै अस्पतालसम्म पु¥याइएन्। गाउँमै जडिबुटी र झारफकु गर्न थालियो। ‘घरमै घ्यु कुमारी र कुखुराको बोसो लगाइदिन्थे, धामीले विहान–बेलुका झारफुक गर्थे,’ वशन्तीले भनिन्, ‘अस्पताल आउने आफूसँग पैसा थिएन्, घरकाले ल्याइदिएनन्।’ जलेको भागमा किरा पर्न थाल्यो। आठ दिनपछि छिमेकीले १० हजार रुपैयाँ सापटी दिएपछि वशन्तीले अस्पताल पुगिन्। असार १६ गते जेठो छोरा रुपेन्द्रले दुल्लु अस्पतालसम्म ल्याइपु¥याए। जलिसकेको भागको उपचार दुल्लु अस्पतालमा संभव भएन्। केही दिनको उपचारपछि दुल्लु अस्पतालले वशन्तीलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत रेफर ग¥यो। साउन एक गते उनी कर्णाली प्रदेश अस्पताल आइपुगिन्।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १६८ को उपदफा ४ ले महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव वा छुवाछुत वा अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरेको छ। कानुन कार्यान्वयन नहुँदा महिलाहरु छाउगोठमै मर्नुपर्ने, बलात्कृत हुनुपर्ने र अंगभंग हुनुपर्ने अवस्था कर्णालीमा व्याप्त छ।
कर्णाली प्रदेश अस्पतालका सर्जन डा. निर्मल शाहीले ढिलो अस्पताल आउँदा जलेको भागमा किरा परेको बताए। ‘तीन सातादेखि जलेको ठाउँमा परेका किटाणु नष्ट गर्ने काम भइरहेको छ,’ डा. शाहीले भने, ‘केही दिनभित्रै शरिरको अर्को भागबाट छाला काटेर टाँस्ने (स्क्रिन ग्राफ) तयारीमा छौं।’ उनले आगोका कारण शरिरको पाँच प्रतिशत भाग जलेको बताए।
वशन्तीको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर छ। अस्पतालले औषधिबाहेकको सेवा निःशुल्क गरेको छ। अस्पताल खाएदेखि आमाको उपचारमा ५० हजारबढी खर्च भएको रुपेन्द्रले बताए। ‘डाक्टरले अझै एक महिनाजति अस्पतालमै बस्नुपर्छ भन्नु भएको छ,’ उनले भने, ‘अहिलेसम्म ऋण गरेरै आमाको उपचार गरिरहेको छु।’
वशन्तीको सात जनाको परिवार छ। श्रीमान र जेठो छोरा कमाउन कालापहाड (भारत) जान्थे। त्यहीँको कमाईले घरको चुल्हो बल्थ्यो। बन्दाबन्दीका कारण कालापहाडको रोजगारी पनि खोसियो। यहीँ समयमा छाउगोठमा आमा पोलिइन्। ‘कसैले सहयोग गरिदिए ठूलो उद्दार हुन्थ्यो,’ रुपेन्द्रले भने, ‘हामी ठूलो आर्थिक समस्यामा छौं।
साभार : नागरिकन्यूज डटकम