☰ open Loading... 17 November 2024|  

कुलमानलाई लगातार सफलता, विद्युत् प्राधिकरणको नाफा ११ अर्ब नाघ्यो
  | ३२ श्रावण २०७७, आईतवार १७:५९

 

 

काठमाण्डौ – गएको आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणको नाफा ११ अर्ब रुपैयाँ नाघेको छ । गएको आर्थिक वर्ष २०७६र०७७ मा प्राधिकरणले ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो प्राधिकरणले नौ अर्ब ८१ करोड नाफा कमाएकोमा एकैवर्ष झण्डै एक अर्ब २५ करोड रुपैयाँ धेरै नाफा थपिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै प्राधिकरण अब सञ्चित नाफामा पनि गएको छ । प्राधिकरणले गएको आर्थिक वर्षमा चार अर्ब सात करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आर्थिक वर्ष २०६७र०६८ सम्मको सञ्चित घाटा झण्डै २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएपछि प्राधिकरण घाटामा गइरहेको थियो । आर्थिक वर्ष २०७२र०७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आर्थिक वर्षमा निरन्तर घटाएर प्राधिकरण गएको आर्थिक वर्षबाट मुनाफा कमाउन सफल भएको हो ।

आर्थिक वर्ष २०७२र०७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । प्राधिकरणले २०७३र०७४ मा एक अर्ब ४७ करोड, २०७४र०७५ मा दुई अर्ब ८५ करोड र २०७५र०७६ मा नौ अर्ब ८१ करोड मुनाफा कमाएको थियो । प्राधिकरण अब सञ्चित मुनाफामा पनि गएको छ । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका कार्यकारी निर्देशक कुलमान घिसिङको चुस्त व्यवस्थापनका कारण प्राधिकरणले देशलाई लोडसेडिङमुक्त बनाएको छ भने नाफामा पनि निरन्तर वृद्धि गर्दै गइरहेको छ । उज्यालो बाट