काठमाडौं : सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल विवादमा तानिएका छन् । सोमबारको मन्त्री स्तरको निर्णयबाट कोइरालालाई बाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजश्व बोर्डमा पठाएर कोइरालालाई नियुक्त गर्ने तयारी गरिएको छ ।
कोइराला उपप्रधानमन्त्री पोखरेलका नातेदार (सम्धी) हुन् । आफ्नै सम्धीलाई नाफा लगायत थुप्रै सूचकमा एक नम्बरमा रहेको सरकारी स्वामित्वको बैंकको कार्यकारी अध्यक्षमा नियुक्त गर्न लागिएको पोखरेलमाथि आरोप लागेको छ । बुधबार बस्ने कार्यकारी समितिको बैठकले कोइरालालाई अध्यक्ष नियुक्ति गरिन लागेको स्रोतले जनाएको छ । मंगलबार साँझसम्म सम्धी संरक्षणमा उपप्रधानमन्त्री पोखरेल लागेको भनी तीव्र आलोचना भइरहेको छ ।
बैंकमा अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार बराल, राजनबहादुर पौडेल, रोमिला ढकाल र माधवप्रसाद दाहाल सदस्य छन् । सोमबारको बैठकले सञ्चालक समितिको सदस्य नियुक्त गरिएको छ । कार्यकारी समितिका सदस्यबाटै अध्यक्ष चयन गर्नुपर्ने भएकाले कोइरालालाई पहिले सदस्य नियुक्त गरिएको छ । बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष नियुक्त गर्ने तयारी भएको स्रोतले जनाएको छ ।
तर, नातेदारलाई सदस्यमा नियुक्त गर्ने र कार्यकारी अध्यक्ष बनाउने काम भएको भनी उपप्रधानमन्त्री पोखरेलको तीव्र आलोचना भइरहेको छ । सरकारी स्वामित्वको बैंकको नेतृत्वमै उपप्रधानमन्त्री पोखरेलले आफ्नै घरको मान्छे नियुक्त गर्न लागेको भनी पोखरेल आलोचित भएका छन् ।
को हुन् कोइराला ?
नेकपा शीर्ष नेता पोखरेलका सम्धी कोइराला यसपटक राजनीतिक नियुक्तिमा आउन लागेकाले मात्रै विवाद बढेको होइन । कोइराला नेकपा एमाले सरकारमा गएदेखि हरेक पटक राजनीतिक नियुक्ति लिएकाले विवादित बन्दै आएका हुन् ।
२०५१ मा एमालेको नौ महिने सरकार बन्दा कोइराला खाद्य संस्थानको महाप्रबन्धक नियुक्त भएका थिए । त्यस लगत्तै उनी महेन्द्र मोरङ क्याम्पसका प्रमुख बने । पोखरेल बाणिज्य तथा आपूर्ति मन्त्री हुँदा कोइराला नेपाल आयल नियमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए ।
दोस्रो जनआन्दोलन पछाडि कोइराला उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए । त्यसबेला पनि कोइराला विवादित बनेका थिए । उत्तर पुस्तिका खरीदमा भ्रष्टाचार गरेको लेखा समितिको निष्कर्ष पछाडि कोइरालाले राजीनामा दिएका थिए ।
त्यस पछाडि कोइराला मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति बने । त्यसबेला पनि कोइराला विवादित बनेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कोइराला विरुद्ध उजुरी परेको थियो भने विश्वविद्यालयमा उनी विरुद्ध आन्दोलन नै भएको थियो । दुई महिनासम्म विद्यार्थीहरुले तालाबन्दी गरेका थिए । अहिले फेरि तिनै कोइरालालाई बैंकको अध्यक्ष नियुक्त गर्न लागिएपछि पोखरेल विवादमा तानिएका छन् । मध्याह्न बाट