☰ open Loading... 20 October 2020|   मङ्लबार, कार्तिक ४, २०७७

राउटेलाई छाक टार्नै मुस्किल

  |

 

 

 



सुर्खेत -दैलेखको गुराँस गाउँपालिका–८ स्थित राउटे समुदायको बस्ती बाहिरबाट हेर्दा चिटिक्क देखिन्छ । कपडाको त्रिपालले ढाकिएका राउटे समुदायका ४५ वटा पालका घरभित्रको पीडा भने फरक छ । कोरोना महामारीको प्रभावले यो समुदाय चैतदेखि ‘बन्दी’ जस्तै छ । कोरोनाको डरकै कारण बाह्य समुदायमा उनीहरुलाई प्रवेश दिइँदैन् । यस्तोमा उनीहरुले बनाएका काठका सामाग्री बिक्री हुने कुरै भएन् । जंगली च्याउ र निउरोमा हाल्नका लागि नुनसमेत बस्तीमा छैन ।

कोरोना संक्रमण रोक्नका लागि सुरु गरिएको बन्दाबन्दी (लकडाउन) यता उनीहरु पाँच ठाउँमा बसाई सरे । एक महिनादेखि राउटे समुदाय गुराँस गाउँपालिकाको धरमपोखरा नजिकै छन् । सामाजिक सुरक्षा भत्ता नपाएको दुई महिना भैसक्यो । दुई वर्षअघि कणार्उली प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएका पालहरु च्यातिका छन् । कोरोना संक्रमणअघिसम्म प्रायः दैनिकजसो आउने दाताहरु अहिले राउटे बस्ती पुगेका छैनन् ।

राउटे बस्तीमा खानलाई अन्न छैन । ओत लाग्नका लागि गतिलो पाल छैन । मुखिया सूर्यनारायण शाही कोरोना कहरले आफ्नो समुदायमा ठूलो असर पारेको बताउँछन् । ‘जंगली तिउन (तरकारी)मा हाल्नलाई नुन किनेर ल्याउन पनि पाएका छैनौं,’ मुखिया शाहीले भने, ‘हाम्रो समुदायमा यस्तो संकट कहिल्यै आएको थिएन।।

राउटे समुदाय बसोबास गरिरहेको गाउँमा नियमित पानी परिरहन्छ । कसैका घर ओभाना छैनन् । आकासबाट खसेको पानी तर्काउने पाल च्यातिएका छन् । पालभित्र राखिएका अन्नपात पानीले भिजाइदिन्छ । ‘पाल नाम मात्रैका छन्, सुत्दा आकास देखिन्छ, घामपानी पनि छेक्दैन्,’ सुर्यनारायणले भने, ‘कोरोनाले दुःखमाथि दुःख थपिरहेको छ ।’ बस्ती नजिकै धरमपोखरा बजार छ । राउटे समुदायलाई स्थानीयहरु बजार प्रवेश गर्न पनि सहजरुपमा दिँदैनन् ।

लकडाउन सुरु भएयता सहयोगी दाताहरु पनि राउटे बस्तीमा आउन छोडेका छन् । लकडाउन अघिसम्म दैनिक दाताहरु आउँथे । खाद्यान्न, लत्ताकपडा र पैसा दिन्थे । उनीहरुले बनाएका भाँडाकुँडा किनेर लिन्थे । यसले राउटे समुदायलाई गुजारा चलाउन सहज हुन्थ्यो । ‘कोरोनाको डरले अहिले सहयोग गर्न पनि बस्तीमा कोही आउँदैनन्,’ अर्का मुखिया वीरबहादुर शाहीले भने, ‘दिन काट्दै मुस्किल भइरहेको छ ।’

एकै स्थानमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने यो समुदायको मुख्य आम्दानी भनेकै काठका भाँडावर्तन बनाएर विक्री गर्नु हो । कोरोना कहरपछि बनाएका काठका सामाग्री पनि विक्री भएका छैनन् । ‘नयाँ मान्छे (मानिस) बस्ती आउँदैनन्, हामीलाई गाउँघर र बजार जान दिँदैनन्,’ उनले भने, ‘लकडाउन अघिनै बनाएका सामाग्री पनि विक्री नभएपछि अहिले त बनाउनै छोडेका छौं ।’

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले लकडाउनले राउटे समुदाय समस्यामा परेको बताए । ‘उहाँहरु काठका सामाग्री बनाएर बिक्री गर्नुहुन्थ्यो, त्यसैको आम्दानीले गुजारा चल्थ्यो, सहयोगी दाताहरु पनि दैनिक आउनुहुन्थ्यो,’ उनले भने, ‘कोरोनाका कारण काठका सामाग्री पनि गाउँगाउँ र बजार डुलेर विक्री गर्ने अवस्था छैन्, दाताहरु पनि नआउँदा गुजारा चलाउनै समस्या भइरहेको छ ।’ उनले गाउँपालिका एक्लैले १५३ जना राउटेहरुलाई पाल्न नसकिने अवस्था आएको बताए । ‘राउटे समुदायलाई एक महिनामा तीन क्विन्टल बढी खाद्यान्न आवश्यक पर्छ,’ उनले भने, ‘गाउँपालिका एक्लैले सक्ने अवस्था नभएकाले सहयोगीहरुको खोजीमा छौं ।’


राउटेलाई त्रिपाल र कपडा

खाद्यान्न र लत्ताकपडा अभावमा दैनिकी गुजारी रहेका राउटे समुदायलाई रोजी फाउण्डेशनमार्फत सहयोग गरिएको छ । ४५ राउटे परिवारलाई त्रिपाल र १५३ राउटेहरुलाई उनीहरुले प्रयोग गर्ने परम्परागत पोशाक वितरण गरिएको हो । रोजी फाउण्डेशनमा नेपाल प्रतिनिधि शैलेन्द्र विष्टले कोरोनाको संकटमा परेका राउटे समुदायलाई त्रिपाल र लत्ताकपडा सहयोग गरिएको बताए ।

‘कोरोनाका कारण राउटे समुदाय समस्यामा रहेको सुचना पाएपछि बस्तीमै पुगेर त्रिपाल र परम्परागत पोशाक वितरण गरेका हौं,’ विष्टले भने, ‘राउटे समुदायमा खाद्यान्नको पनि अभाव देखियो ।’ रोजी फाउण्डेशनले सुर्खेत महिला जेसीजसँगको सहकार्यमा राउटे समुदायमा सहभोजको पनि आयोजना गरेको थियो । उनीहरुलाई बस्तीमा मासु–भात खान दिइएको थियो । राउटे समुदायका महामुखिया महिनबहादुर शाहीले दुई महिनापछि आफुहरुले मासु–भात खान पाएको बताए । जंगलमा बाँदर मारेर खाने यो समुदाय कोरोना संकटपछि सिकार खेल्न पनि गएको छैन ।साभार:नागरिक दैनिक

प्रकाशित मितिः सोमवार, भदौ २२, २०७७     7:55:01 PM
error: Content is protected !!