सल्यान :सल्यानको छत्रेश्वरि गाउँपालिकाका वडा कार्यालयहरुमा तालाबन्दी भएको छ। गाउँपालिकाका सातै वटै वडा कार्यालयमा करार कर्मचारीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका हुन। करार कर्मचारीहरुले आफ्नो सेवाको करार म्याद थपको माग राख्दै वडा कार्यालयहरुमा तालाबन्दी गरेको बताएको छ।
तालाबन्दी संगै विभिन्न संघर्षका कार्यक्रम हरु समेत सार्बजनिक गरिएको छ। संघर्षका कार्यक्रम अन्तरगत आज आईतवार देखि सम्पुर्ण वडा कार्यालय हरुमा तालाबन्दी, १३ गते गाउँपालिका कार्यालय अगाडि बिरोध सभा र १४ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि धर्ना र शान्तिपूर्ण र्याली रहेको करार शिक्षक तथा कर्मचारी संघर्ष समितीका संयोजक दिलिप बोहराले बताएका छन।
प्रत्येक वडा हरुमा बिज्ञप्ति टास गर्दै संघर्ष समितीले तालाबन्दी गरेको हो। बिज्ञप्तिमा गाउँपालिकाको बजेट तत्काल पास हुनुपर्ने, करारमा रहेका सम्पुर्ण कर्मचारी हरुको म्याद थप लगाएतका माग राखिएको छ।
कार्यपालिकाबाट बजेट पास नभएको भन्दै यथाशीघ्र बजेट पास भै कामकारबाही सुचारु गराउन संघर्ष समितिले अनुरोध गरेको छ। करारमा रहेका १ सय १ जना कर्मचारीहरु गत साउन २० गतेदेखि आन्दोलनरत छन।
गाउँपालिकाको आर्थिक बर्षको नीति तथा कार्यक्रम अहिलेसम्म पास हुन सकेको छैन। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, र ३ जना वडा अध्यक्ष हरु कर्मचारी हरुको करार म्याद थप गर्ने पक्षमा छन भने ४ जना वडा अध्यक्षहरु म्याद थप नगर्ने पक्षमा रहेकाले बजेट पासहुन नसकेको हो। बजेट पासका विषयमा कार्यपालिकामा र दुबै पक्षबीच बारम्बार वार्ताहुदा समेत सहमती बन्न सकेको छैन।