दैलेख -आठविस नगरपालिका – ५ पिपलकोटस्थित हस्तना विकको परिवार दशैंको मुखमा बेखर्ची बनेकी छिन्। ६ छोराछोरी रहेका उनको परिवारमा श्रीमानको मृत्यु पछि घर खर्च चलाउन गाह्रो भएको छ। वडा कार्यालयले सिफारिस नदिदाँ सहयोग गर्ने संस्थाले समेत हस्तनाको परिवारलाई राहत मिलेको छैन ।
कोरोना भाइरसको संक्रमणले गाउँमा समेत काम नपाएपछि घरमा विहान बेलुकाको खर्च नभएर बेखर्ची हुनुपरेको उनी बताउँछिन् । ‘गाउँमा कति दिन मागेर खर्च चलाउने ?’ हस्तना भन्छिन् ः ‘वडा र संस्थामा गुहार मागेपनि कहिले के कहिले के भनेर दिदैनन् ।’
उनलाई वडाले विपन्न वर्गको सिफारिस बनाएर संस्थाले सहयोग गर्ने भनेपछि सिफारिस लिन वडामा जाँदा नपाएपछि दुखित बनेकी छिन् । उहाँहरुको राजनिति के हो हामीजस्तालाई थाहा हुँदैन् उनले भनिन् ः हामीलाई राहत वडाले नदिए संस्थाले दिन्छु भन्दा सिफारिस नै पाईएन् । उनका ४ वर्षदेखी १३ वर्षसम्मका ६ वटा साना छोराछोरी छन् । घरमा खाने अन्न नभएको बेला गरिवलाई राहत दिन वडाले कुनै कार्य नगरेको आरोप उनीहरुको छ । उनी एक प्रतिनिधि पात्र भएपनि वडामा धेरै विपन्न वर्गहरुको घरमायसपालीको दशैं कोभिडका कारण खल्लो हुदैछ ।आफुहरुले सोसेक भन्ने संस्थालाई वडामा काम गर्न नदिने अघिल्लो वर्ष नै निर्णय गरिएको कारण सिफारिस नदिएको वडाअध्यक्ष कर्णबहादुर आलोले बताए ।वडाले उहाँहरुलाई आर्यआर्जनका साना कार्यक्रम दिएको र आगामी वर्षपनि दिने तर, आफुहरुले प्रतिवन्ध लगाएको संस्थाको कुनै पनि कार्यक्रम स्विकार नगर्ने वडाअध्यक्ष आलोले बताए ।
स्थानीयहरुले भने राजनिति प्रतिशोधका कारण वडाअध्यक्षले वडामा आएको कार्यक्रम रोक्ने निर्णय गर्नु गलत भएको बताएका छन् । वडाले पार्टीगत रुपमा कार्यकर्ता छानेर कार्यक्रमहरु विभेदपूर्ण रुपमा बाँड्ने गरेको समेत स्थानीयले गुनासो गरेका छन् ।
गरिव, अतिविपन्न परिवारका लागि दशैंमा राहतको कुनै पनि प्याकेज नल्याएको र संस्थाले सहयोग गर्छुभन्दापनि गाउँमा रोकेको आरोप नेपाली काँग्रेस आठविस नगरपालिकाले लगाएको छ ।