सल्यानमा आफ्नै श्रीमानको हत्या गर्ने एक महिला पक्राउ परेकी छिन् । कपुरकोट गाउँपालिका-५ पाङराङकी ४३ वर्षीया ईश्वरी कामी पक्राउ परेकी हुन् ।
उनले कात्तिक १९ बिहान गते ५४ वर्षीय आफ्नै श्रीमान् रामे कामीको हत्या गरेकी थिइन् । घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिचेर पिर्का (चौखी) ले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए ।
उनका अनुसार घरमा रामेले भदौमा दोस्रो विवाहसमेत गरेका थिए । दोस्रो बिहे भएयता पनि कुनै सन्तान नभएको र कान्छी श्रीमतीले जग्गा बेचेर पसल गर्ने भनेर ढिप्पी गर्ने गर्दा उनको घरमा दिनहुँ विवाद हुने गरेको थियो ।
घटना भएको दिन गाउँका भाद्र भलाद्मीहरुले छलफल गराइदिएका थिए र छलफल गरिएको केही समय पछि पुनः विवाद हुँदा सोही विषयलाई लिएर हत्या भएको प्रहरीले जनाएको छ ।
हत्यापछि मृतक रामेका बुवा पर्से कामीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । सोही किटानी जाहेरीका आधारमा ईश्वरीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ओलीले जनाए । उक्त मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।