उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योग प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले बचाउ गरेको छ । उक्त डेरीद्वारा उत्पादित ‘रारा दुध’ र ‘रारा दही’मा लेवलिङ्ग नगरि बजारमा विक्रि गर्दै आएको थियो । सोही समाचार प्रकाशन भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले अनुगमन गरी निरीक्षण समेत गरेको थियो ।
कम्पनीका संचालक माधव धितालले दशैंदेखि लेवलिङ्ग प्रिन्ट गर्ने कर्मचारी विदामा भएकोले लेवल नराखिएको बताएका थिए । तर, समाचार प्रकाशन पछि कम्पनीद्वारा विज्ञप्ती जारी गर्दै मेशिन खराबी आएको समेत कम्पनीले स्वीकार गरेको थियो । यद्यपी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले अनुगमन निरीक्षण गरी लेवल लगाएको पाइएको भन्दै उद्योगको बचाउ गरेका छन् ।
कानुुनमा के छ ?
उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद २ को दफा ६ को उपदफा (च) मा वस्तुको विक्रि मुल्य, व्याच नम्बर र उत्पादन मिति उल्लेख गर्नुपर्ने स्पष्ट व्यवस्था छ । यद्यपी उपभोक्ता संरक्षण ऐन विपरित सुर्खेत डेरी उद्योगले उपभोक्ता ठगी गरेको हो ।
सोही ऐनको परिच्छेद ८ को कसुर र सजाय सम्बन्धि व्यवस्था अनुसार दफा ३८ को उपदफा (क) मा ‘दफा ६ बमोजिम लेबलिङ्ग नगरेमा वा लेबलमा झुठा कुरा उल्लेख गरेमा’ कसुर ठहरीने र उक्त कसुर गरेवापत ‘तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय’ हुने व्यवस्था स्पष्ट उल्लेख छ । यद्यपी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेषबहादुर थापाले भने उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योगलाई कारबाही गर्न मनासिव नदेखिएको भन्दै बचाउ गरेका छन् ।