सल्यान । नगरभित्र लक्षणसहितका कोरोना भाइरसका संक्रमित देखा पर्न थालेपछि बागचौर नगरपालिकाले नगर सिल गरेको छ । बिहीबारदेखि मंसिर ५ गतेसम्म १० दिनका लागि सिल गरिएको हो ।
नगरभर तथा बाहिरका कोही पनि उच्च जोखिममा नपरुन् भनेर सिल गर्ने सूचना प्रकाशन गरिएको बाग्चौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले बताए । उनले नगरपालिकाले तथा अन्य कार्यालयले दिने अत्यावश्यक सेवाबाहेक नगरपालिकाभित्र सञ्चालित विद्यालय, सरकारी कार्यालय, बैंक वित्तीय संस्थालगायत अन्य कार्यालयले दिने सेवा बन्द गरिएको जानकारी दिए । तिहारको समयमा सर्वसाधरणलाई जमघट गरेर भोजभतेर नखानसमेत उनले सल्लाह दिएका छन् ।
नगरपालिका सिल गरेलगत्तै नगरको सीमाअन्तर्गत पूर्वमा शारदा खोला, पश्चिममा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै लस्तम, अग्ला टाकुरा, उत्तरमा पाण्डल खोलाको टाटके जाने बाटोको पुल र दक्षिणमा ठिनबाङ्ग खोला पुल क्षेत्र बाहिर कसैलाई आउजाउ नगर्नसमेत नगरप्रमुख बुढाथोकीले सबैलाई अनुरोध गरेका छन् ।