☰ open Loading... 8 January 2025|  

स्टाफ नर्सको भरमा कोभिड अस्पताल
  | २ पुष २०७७, बिहीबार १०:४०

सल्यान : सल्यानको दार्मा गाउँपालिका, कालीमाटी र कुमाख गाउँपालिकाको अस्पतालबाहेक अन्य स्थानीय तहमा रहेका अस्पतालमा डाक्टर छैन। स्थानीय तहले जारी गरेका सूचनामा एमबिविएस डाक्टर, स्टाफ नर्ससहितको सेवा गर्ने उल्लेख छ। तर अस्थायी अस्पतालमा कोही पनि डाक्टर आउन इच्छुक नदेखिएको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए। असोज १२ गते दरखास्त आह्वानका लागि सूचना जारी भए पनि अहिलेसम्म कुनै पनि डाक्टरले दरखास्त नदिएको उनको भनाइ छ।

कपुरकोट गाउँपालिकाले पनि अस्थायी अस्पताल सञ्चालन गरेको छ। तर डाक्टर नहुँदा नर्सकै भरमा अस्पताल  सञ्चालन हुँदै आइरहेको छ। असोज २१ मा दरखास्त आह्वान भए पनि डाक्टर पाउन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले बताए। स्टाफ नर्स  र कार्यालय सहयोगीको भरमा अस्पताल सञ्चालन भइरहेको उनले बताए।

छत्रेश्वरी गाउँपालिकाले कर्मचारी भर्नाका लागि दोस्रो पटक दरखास्त आह्वान गरेको छ। पहिलो पटक दरखास्त आह्वान गर्दा डाक्टर, स्टाफ नर्स कुनैमा पनि आवेदन नपरेपछि मंसिर २२ गते दोस्रो पटक दरखास्त आह्वान गरेको गाउँपालिकाले जनाएको छ।