बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाई जोड्ने पिलुचौरस्थित कर्णाली पुल वरपर जम्मा भएका मानिसहरु देख्दा कुनै मेला लागेको जस्तो देखिन्थ्यो । विचमा निलै भएर बगि रहेको कर्णाली नदी, कर्णाली नदीका किनारा र पिलुचौरको झोलुङ्गे पुलमाथिबाट उत्सुकताका आँखाले हेरिरहेका स्थानीयहरुलाई हेर्दा कुनै मेलामौसरको छनक दिइरहेको थियो ।
शनिवार पहिलो पटक जिल्लाकै दुर्गम तथा कर्णाली पारीको स्थानीय तहमा जीप सञ्चालनका लागि कर्णाली नदीमा जीप तार्ने काम भै रहेको थियो । जीप तार्नका लागि गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाही विहानैबाट खटिएका थिए । जव जीपलाई कर्णाली नदीमाथि विना पुल तराउन लागियो स्थानीयहरु थप उत्सुक भए र हल्ला गर्न थाले । पेट्रोल, डिजेल राख्ने ड्रमहरु जोडेर नेपालकै लामो तथा तेस्रो ठूलो कर्णाली नदीबाट जोखिम मोलेर जीप तारिएको हो ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका वडा नं २ बाहेक अन्य वडाका वडा कार्यालयसम्म बाटो निर्माण भै सकेकाले गाउँपालिका भित्रका नागरिकलाई सहजताका लागि जोखिम मोलेर भएपनि यात्रुबहाक जीप तराइएको जीप मालिक रेखम शाहीले मध्यान्हलाई बताए । गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले लकडाउनका कारण कर्णाली नदीमा फेरी निर्माण कार्य पुरा नभएको, दुईवटा पुल निर्माण हुने भनिए पनि अहिले सम्म ठेक्काबाहेक अन्य प्रक्रिया शुरु नभएको र बेलिविज्र निर्माणका लागि आवश्यक पहल भएकाले तत्काल गाउँपालिका भित्र यातायात सञ्चालनका लागि जोखिम मोलेरै भए पनि जीप तारिएको बताए ।
कर्णाली नदीबाट जीप तारेर गाउँपालिकामा पु¥याए पछि स्थानीयबासीले खुसी ब्यक्त गरेका छन । सुदुरपश्चिम प्रदेश ००१ च २९४६ नम्वरको जीपलाई स्थानीयबासील् भब्य स्वागत गरेका छन । जीपलाई कर्णाली नदी तारिए पछि गाउँपालिकाका अध्यक्ष शाही आफैले जीप चलाएर सेवाको शुरुवात समेत गरे । उनले गाउँपालिकालाई पहिलो पटक साना यातायात सञ्चालनमा जोडेको प्रति जीप मालिक शाहीलाई धन्यवाद दिए ।
| १२ पुष २०७७, आईतवार ०७:००