दैलेख — आठबीस नगरपालिकाले म्याद गुज्रेका औषधि वितरण गरेको पाइएको छ । राकमकर्णालीस्थित रारा पोलिक्लिनिक तथा जेएन फार्मेसीसँगको मिलेमतोमा नगर स्वास्थ्य शाखाले पुस १७ गते ४ नम्बर वडामा म्याद नाघेका विभिन्न १० प्रकारका औषधि वितरण गरेको भेटिएको हो ।


स्वास्थ्य शाखाका कर्मचारी र पोलिक्लिनिकको मिलेमतोमा म्याद नाघेका र म्याद नाग्न १/२ महिना रहेका औषधि विभिन्न वडामा वितरण गरिएको स्थानीयको आरोप छ । म्याद नाघेका औषधि वितरण गरेको पाइएपछि नेपाली कांग्रेसले अनुगमन नै गरेको थियो । ‘म्याद नाघेकै औषधि खरिद गरिएको पाइयो,’ कांग्रेस वडा सभापति भीमबहादुर माझीले भने, ‘हामीले समयमै अनुगमन गरेकाले वितरण भने हुन पाएन ।’ स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सिना र रारा पोलिक्लिनिक तथा जेएन फार्मेसीका सञ्चालक जिवानन्द मेहताको मिलेमतोमा औषधि खरिद गरिएको उनको आरोप छ ।
स्वास्थ्य शाखाले राकमकर्णाली स्वास्थ्यचौकीमा आपतकालीन औषधि भन्दै म्याद सकिएका औषधि पठाएको सभापति माझीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘स्वास्थ्य संयोजक, पोलिक्लिनिक सञ्चालक र संलग्न कर्मचारीविरुद्ध छानबिन गरी आवश्यक कारबाही होस्,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेलाई छानबिन नगरे आन्दोलन गरिनेछ । त्यसबाट निस्कन सक्ने सम्भावित परिणामको जिम्मेवार सम्बन्धित निकाय हुनुपर्नेछ ।’ वडा सभापति माझीका अनुसार बिलमा कुनै मूल्य तोकेको थिएन भने स्वास्थ्यचौकीले जथाभावी औषधि भण्डारण गरेको पाइएको थियो । उनीसहित केही स्थानीयले औषधि बरामद गरेपछि मात्र सोमबार स्वास्थ्य शाखाका नाममा पोलिक्लिनिकले बिल काटेको छ ।
पुरानो मिति राखेर उक्त औषधिको बिल काटिएको एक कर्मचारीले बताए । उनका अनुसार कतिपय औषधिको म्याद २०१९ मे महिनामा सकिएको थियो भने केही २०२१ जनवरीमा सकिने औषधि खरिद गरिएको थियो । ‘२ महिनामा म्याद सकिने औषधिसमेत खरिद गरिएको थियो,’ उनले भने, ‘औषधि खरिद नियमावलीअनुसार स्टोरमा दाखिला हुने मितिको कम्तिमा १८ महिनासम्म एक्सपाएर डेट हुनुपर्ने प्रावधान छ ।’

स्थ्यचौकीले ५० हजार रुपैयाँको बिल काटिएको जनाएको छ । राकम स्वास्थ्यचौकीका प्रमुख डा कृष्ण भुषालले आफू भर्खर आएकाले यो विषयमा अनभिज्ञ रहेको बताए । ‘अहिलेसम्म कुनै म्याद गुज्रेको औषधि यहाँ आएको छैन,’ उनले भने,‘आए पनि हामीले वितरण गर्न मिल्दैन ।’ नगरप्रमुख खड्कराज उपाध्यायले आफूले अनुगमन गरे पनि कुनै औषधिको म्याद नाघेको नभेटिएको बताए ।कान्तिपुर बाट
| २१ पुष २०७७, मंगलवार १५:२५